महेश सिंह लहान-मधेश प्रदेशको जनकपुरधाममा वित्तीय अराजकताविरुद्ध अभियान सुरु भएको छ। वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा भएको कार्यक्रममा वित्तीय अनियमितताबाट पीडितहरूलाई एकजुट हुन आह्वान गरिएको छ।
“बाँचौं, सघाऔं र अघि बढौं, आफ्नो न्यायका लागि जुटौं” भन्ने सन्देशसहित सुरु भएको अभियानले वित्तीय पारदर्शिता र सुशासनका लागि दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम निधि भवन, जनकपुरधाममा सम्पन्न भयो। लघुवित्तविरुद्ध संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञावाली ले लघुवित्त संस्थाहरूको आर्थिक शोषणविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताए। उनले २०८४ को निर्वाचनमा पीडित समुदायले सचेत भएर मतदान गर्नुपर्ने भन्दै राज्यलाई चेतावनी दिए।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाथ खनाल ले लघुवित्त पीडितहरूसँग रहने प्रतिबद्धता जनाउँदै आर्थिक शोषण गर्नेहरूमाथि कारबाही गर्नुपर्ने धारणा राखे। “अब लघुवित्तको नाममा ठगी गर्नेहरूलाई ठेगान लगाएरै छाड्छौं,” उनले भने।
कार्यक्रममा सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका लघुवित्त पीडित महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। पीडित महिलाहरूले ऋणको बोझले मानसिक तनाव, घरबारविहीनता र आत्महत्यासम्मका घटनाहरू बढ्दै गएको गुनासो गरे।
सहकारी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष कुशलभ केसी ले सहकारी पीडितहरूको पक्षमा सशक्त संघर्ष गर्ने प्रतिबद्धता जनाए। “हामी सहकारी ठगहरूलाई कानुनी दायरामा ल्याएरै छाड्छौं,” उनले भने।
लघुवित्त र सहकारी पीडित संघर्ष समितिले चैत १७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ। देशभरका पीडितहरूलाई काठमाडौं आउने आह्वान गरिएको छ।
अभियानले वित्तीय पारदर्शिता, सुशासन र पीडितहरूको हक-अधिकार सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। नीति निर्माताहरूसँग निरन्तर संवाद गर्दै वित्तीय अराजकताविरुद्ध कानूनी सुधारको पहल गरिनेछ।
जनकपुरधामबाट सुरु भएको यो आन्दोलन काठमाडौंसम्म फैलिँदै सशक्त दबाब समूहको रूपमा अगाडि बढ्ने संकेत देखिएको छ।