महेश सिंह सिरहा- मधेश प्रदेशको लहानमा हृदय रोग निवारण तथा मधुमेह उपचार केन्द्र स्थापना भएको छ। नेपाल हृदय रोग निवारण संघद्वारा सञ्चालन गरिएको कार्डियो-डायबेटिक सेन्टर औपचारिक रूपमा उद्घाटन गरिएको हो।
लहान नगरपालिका-४ यज्ञभूमिमा रहेको सेन्टर विगत तीन महिनादेखि परीक्षण रूपमा सञ्चालनमा रहे पनि शनिबार नगर प्रमुख महेश प्रसाद चौधरी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुमुद धिताल ले संयुक्त रूपमा यसको उद्घाटन गरे।
सेन्टरको उद्घाटनसँगै फागुन २६ र २७ गते दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।बिहान ९ बजेदेखि सुरु भएको शिविरमा मुटुरोग र मधुमेहसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएको छ। शिविरको पहिलो दिनमा २३४ जनाले सेवा लिइसकेको हृदय रोग विशेषज्ञ डा. संजय कुमार साह ले जानकारी दिए।
इसीजी (ECG), इकोकार्डियोग्राफी (ECHO), ल्याब परीक्षण निःशुल्क,मुटु तथा मधुमेह रोगको परीक्षण र औषधि वितरण,उक्त शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा जर्मनीबाट आएका मुटुरोग विशेषज्ञहरूको टोली सहभागी छन्।
नेपाल हृदय रोग निवारण संघका डा. बालकृष्ण ओरज्ञान (चौधरी) का अनुसार, लहानमा गंगालाल हृदय रोग केन्द्रकै स्तरको अस्पताल स्थापना गर्ने लक्ष्यसहित कार्य अगाडि बढाइएको छ।”यस क्षेत्रका बिरामीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता हटाउन र मुटु तथा मधुमेह रोगको गुणस्तरीय उपचार दिन यो सेन्टर स्थापना गरिएको हो,” डा. चौधरीले भने।
लहानलगायत मधेश प्रदेशभरि हृदय रोग र मधुमेहका बिरामीको संख्या बढ्दै गएको छ। उच्च रक्तचाप, मधुमेह, अस्वस्थ जीवनशैली र तनावका कारण मुटुरोगीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरू बताउँछन्।स्थानीयवासीले सेन्टर स्थापनालाई स्वागत गरेका छन्। “पहिले मुटुको परीक्षण गर्न काठमाडौं जानुपर्थ्याे, अहिले यहाँ नै सुविधा पाइने भएकाले ठूलो राहत मिलेको छ,” लहानका रामेश्वर यादव भन्छन्।
नगर प्रमुख चौधरीले पनि सेन्टरलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। “स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा दिन सकियो भने जनतालाई ठूलो राहत मिल्छ,” उनले भने।लहानमा स्थापना भएको यो सेन्टरले मधेश प्रदेशका नागरिकलाई मुटुरोग र मधुमेहको उपचारमा नयाँ आशा दिएको छ।