महेश सिंह लहान –सिरहाको लहान-१ स्थित लोटस युनिक एकेडेमीलेले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा महिलालाई उच्च सम्मान प्रदान गर्दै विविध सांस्कृतिक एवं प्रेरणादायी कार्यक्रमहरू आयोजना गरियो।
कार्यक्रमका प्रमुख अतिथि सप्तरीको सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी रहनु भयो भने विशिष्ट अतिथिका रूपमा लहान नगरपालिकाका शिक्षा संयोजक महेश्वरी चौधरी, पूर्व उप–प्रमुख सरियार चौधरी, तथा थारु कल्याणकारीणी सभाकी पूर्व केन्द्रीय अध्यक्ष भगवती चौधरी उपस्थित हुनुहुन्थ्यो।
नगर प्रमुख चौधरीले महिला सशक्तीकरण र व्यावहारिक शिक्षाको महत्व बारे प्रकाश पार्दै भन्नुभयो “राज्यले दिएको अधिकार महिलाले बुझ्न जरुरी छ। नारी छन्, त्यसैले संसार टिकेको छ। पढाइसँगै व्यवहारिक शिक्षामा पनि विद्यार्थीलाई जोड्नुपर्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।”
विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीलेले विद्यार्थीहरूमा आमा–बुबाप्रति आदर, सम्मान र संस्कारको विकास गराउने उद्देश्यले विशेष कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अभिभावकलाई सम्मान गर्दै नारी दिवसको महत्व दर्शाएका थिए।
दिवसको अवसरमा विद्यालयले सयौं महिलाहरूलाई विशेष सम्मान प्रदान गरेको थियो। साथै, अन्तरविद्यालय खेलकुद प्रतियोगिता मा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा सम्मान प्रदान गरियो।
विद्यालयले समाजमा शिक्षा, संस्कार र व्यवहारिक ज्ञानको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।