सिरहा । सिरहाको नरहा गाउँपालिकाका एक वडाध्यक्षले एक भारतीय नागरिकलाई नागरिकता दिएको खुलेको छ ।
नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुस्तम अन्सारीले भारतको बिहार बस्ने एक गैर नेपाली नागरिकलाई नागरिकता बनाईदिएको खुलेको छ । वडाध्यक्ष अन्सारी र सोही वडाका वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो ।
वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ ।
सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका वडा नम्बर ३ खोरियाका अमानत मियाँ (नागरिकता नम्बर १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५-०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमारवुवा बनाई सिफारीमा सनाखत बसेको स्थानियहरु बताउँछन् ।
तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन् । उनी भन्छन, ‘मेरो छोरोको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सहि गरिदेउ भनेकाले सहि गरिदिएको थिएँ । उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ । मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन ।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेका हुन् । सवै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे ।