धनुषा : जनकपुरधाम उपमहानगरपालिका १३ का अध्यक्ष र कार्यालय सहयोग विरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले नागरिकता प्रमाण पत्र सिफारिस वापत सेवाग्राहीसँग वडाध्यक्ष शुभनारायण मण्डलको निर्देशनमा कार्यालय सहयोगी दिलिपकुमार पजियारले सेवाग्राहीसँग घुस लिएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारको बर्दिबास स्थित कार्यालयले नागरिक प्रमाणपत्र सिफारिस वापत सेवाग्राही सँग घुस लिइरहेको गोप्य सूचनाको आधारमा कार्यालय सहयोगी दिलिपलाई २४ हजार रुपैया घुस सहित बितेको असोज १५ गतेका दिन रंगेहात पक्राउ गरेको थियो ।
वडाध्यक्ष मण्डलकै निर्देशनमा कार्यालय सहयोगी दिलिपले सेवाग्राही सँग सो रकम घुस लिएको कुरा अनुसन्धानको क्रममा खुल्न आएको भनी निज वडाध्यक्ष विरुद्ध समेत मुद्दा दायर गरिएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार जारी गरेको विज्ञप्तिमा भनेको छ ।
घुस लिएको तथ्य सप्रमाण पुष्टि हुन गएपछि वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पजियार विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर ठहर गर्दै बिगो २४ हजार सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजायको मांग गर्दै मुद्दा दायर गरिएको विज्ञप्तिमा जनाइएको छ ।




















