काठमाडौं : सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइन विषयमा व्यापारीहरूसँग छलफल गरेको स्वीकारेका छन्। १६ अर्ब रूपैयाँ सेटिङ भएपछि आफैंले बोलाएर ती उद्योगीहरूलाई भेटेको सभापति पोखरेलले सदनसमक्ष स्वीकारेका हुन्।
‘हो, मैले व्यापारीलाई बोलाएर सोधेको हो। १६ अर्ब कसरी सेटिङ कसरी गर्नुभयो मित्र भनेर सोध्न परेन?,’ उनले भने, ‘ती व्यापारीहरूलाई बोलाएर मैले यही कुरा सोधेको हुँ।’
संसदीय इतिहासमा पहिलोपटक उज्यालोमै भ्रष्टाचार गर्ने आँट गरिएको उनले बताए। ‘कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। कतिपय सूचना पनि छन्। संसदीय इतिहासमा यति विघ्न उज्यालोमै आँट गर्न मिल्छ। सार्वजनिक लेखा समितिमा छलफल नै नगरी छुट दिन मिल्छ?,’ विद्युत महुल छुटबारे उनले प्रश्न गरे।
उनले बिना तथ्य र प्रमाण सार्वजनिक लेखा समितिमा कुनै निर्णय हुन नदिने प्रतिबद्धता जनाए। ‘अरु समितिले के गर्छ थाहा छैन। तर, कानुन, तथ्य र प्रमाण नजुटाइकन कुनै निर्णयमा जाँदिनँ। यो हाम्रो निर्णय हो,’ उनले भने।
सभपति पोखरेलले समितिका कुनै सांसदले समितिमा भएका टिपोटहरू व्यापारी र प्राधिकरणकहाँ पुर्याएको आरोपसमेत लगाए। सांसदहरू पनि व्यापारी र प्राधिकरणको दलाल रहेको भन्दै उनले सदनमै आक्रामक बनेका थिए।
‘समितिमा भएका छलफलको टिपोट मागेपछि केही माननीयलाई दिएको थिएँ। माननीय राजेन्द्र लिङ्देनलाई म आफैंले दिए। उहाँ पूर्व मन्त्री भएर पनि मैले दिएको थिएँ। यी मध्ये कसले ती टिपोट कसले हो व्यापारी र प्राधिकरणमा पुर्याएछन्, मलाई थाहा भएन। तर, व्यापारी र प्राधिकरणको पनि दलाल माननीय हुँदो रहेछ नि,’ उनले भने।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि पनि प्रश्न गरेका थिए। गम्भीर विषयमा छानबिन गरी कारबाही गर्न सिफारिस गर्दासमेत अख्तियारले प्रक्रिया अगाडि नबढाएको उनको आरोप छ। ‘अख्तियारमाथि पनि प्रश्न उठेको छ। विसं २०७६ सालमा सार्वजनिक लेखा समितिले अध्ययन गर्नुस्। कारबाही गर्नस् भन्दा गरेन। जसका कारण आज गम्भीर परिस्थिति सिर्जना भएको छ,’ उनले भने।
उनले आफूले बोलेको कुरा कसैले असत्य प्रमाणित गरे टुँडीखेलमा झुन्ड्याउन आग्रह गरे। ‘मैले बोलेका कुरा कसैले असत्य प्रमाणित गर्नुस्। मलाई टुँडीखेलमा झुन्ड्याउनुस्। म तयार छु। इमानको चरित्र हत्या गर्ने र भ्रष्टहरूको पक्षपोषण गर्नेहरूविरुद्ध मुर्दाबाद छ,’ उनले भने।