राजविराज । जनमत पार्टीले नेपालमा पनि बंगलादेशजस्तै महाआन्दोलनको आवश्यक्ता रहेको बताएको छ । पार्टी अध्यक्ष डा. सिके राउतले नेपालमा पनि महाआन्दोलनको आवश्यक्ता रहेको बताएका हुन् ।
‘यो आलोपालोटालोका सरकारहरूले देशलाई कतै कुनै उँभो लगाउँदैन’ सप्तरी क्षेत्र नम्बर २ का निर्वाचित सांसद समेत रहेका उनले सामाजिक संजाल फेसबुकमा भनेका छन्, ‘केवल सबै भ्रष्टाचारीहरू मिलेर एकठाउँमा आई आलोपालो गरी देशलाई लुट्ने र आफूहरूलाई बचाउने बाहेक केही गर्नै सक्दैन ।’
यसैले यस्तै महाआन्दोलनबाट सबै भ्रष्टहरूलाई ट्राइब्यूनलद्वारा कारबाही गर्ने गरी अगाडि नबढे देश कहिले पनि नबन्ने उनले बताएका छन् ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण र कोटा प्रणालीको विरोधमा भएको आन्दोलन सोमबार थप हिंसात्मक भएको थियो । बंगलादेशको राजधानी ढाकामा जारी तनावका बीच प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् ।
बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दलसँग संवाद गरेको उनले बताएका छन् ।