बझाङ : सुदूरपश्चिम प्रदेशको एक मात्र पहिलो निजी लगानीमा सञ्चालन हुन लागेको सबैभन्दा ठूलो कालङ्गा हाइड्रो पावरको काम अन्तिम चरणमा पुगेको छ । निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको सम्पूर्ण काम पुस महिनाभित्र पूरा भई फागुन महिनाभित्र विद्युत आपूर्ति हुने भएको छ ।
जिल्लाको विकट बुङ्गल नगरपालिका – ५ को पाउँटामा सञ्चालन गरिएको कालङ्गा हाइड्रो पावरको काम तीव्र रुपमा अघाडि बढिरहेको छ । तीन वर्षभित्र काम पूरा गरी विद्युत वितरण गर्ने लक्ष्य लिएर २०७३ चैत्र ८ गतेबाट हाइड्रो पावरको काम सुरु गरेको भए पनि विश्वरभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण देशमा लकडाउन भएसँगै स्थानीयको अवरोधका कारण लक्ष्यभन्दा चार महिना ढिलो सम्पन्न हुन लागेको सञ्चालक समितिका पदाधिकारीको भनाइ छ । स्वदेशी लगानी स्वदेशी प्रविधिको सहयोगमा सञ्चालन हुन लागेको कालङ्गा हाइड्रो पावरको काम चार महिनाभित्रै पूरा गर्ने सञ्चालक समितिका सदस्य शिव घिमिरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाइड्रो पावरको काम अहिले ९२ प्रतिशत सम्पन्न भइसकेको छ । हामी बुङ्गल क्षेत्रमा मात्र ६५ मेगावाट विद्युत उत्पादन गर्दैछौँ । कालङ्गा हाइड्राे पावरको क्षमता ६५.३३ मेगावाट हो । सबैभन्दा अप्ठ्यारो काम सुरुङमार्ग भए पनि साढे तीन किलो मिटर सुरुङमार्गको काम पूरा भई पावर हाउसको घर र बाँधसमेत पूरा भएको छ ।”
विद्युत उत्पादन गरेर सुदूरपश्चिमका नाै जिल्ला र प्रदेश नं. ६ मा समेत ६५ मेगावाट विद्युत उत्पादन गरी वितरण गरेर विकास निमार्णमा टेवा पु-याउने लक्ष्य पूरा हुन लाग्दा निकै खुशी लागेको अर्का सञ्चालक तीर्थराज चटौतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काम गर्ने निकै गाह्रो । कहिले बाढी, झरी, हिमपात । कहिले स्थानीयले हाइड्रो पावरसम्बन्धी नबुझ्नाका कारण अवरोध गर्दा विभिन्न समस्या झेल्नुपरेको छ । कम्पनीमा काम गर्ने दक्ष, अर्धदक्ष र प्राविधिक गरी जिल्लाबाहिर र भित्रका गरी अहिले पाँच सय जनाभन्दा बढीले काम गरिरहेका छन् ।’
निजी लगानीबाट सञ्चालित कालङ्गा हाइड्रो पावरको मात्र कुल लागत २८० करोड रुपियाँ रहेको छ । त्यसमध्ये २५ प्रतिशत व्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छ्रे बैङ्क, एनएनबी बैङ्क, सिभिल बैङ्कलगायतको लगानी रहेको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालङ्गा हाइड्राे पावरले बुङ्गलको सानीगाड,अपरकालङ्गा, बुगल हाइड्राे गरी ६५ मेगावाट विद्युत उत्पादन गर्दैछ ।