इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । टेलिफोन कुराकानीमा नेतन्याहुले आईएस आतंकवादी समूहभन्दा हमास खत्तम र खराब भएको बताए ।
इजरायलको प्रधानमन्त्री कार्यालयले सामाजिक संजाल एक्समा नेतन्याहु र बाइडेनबीचको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा नेतन्याहुले भनेका छन्,‘शनिबार हामीमाथि हमासले आक्रमण गरे, र म यो भन्न सक्छु कि यहुदीको नरसंहारपछि मैले यस्तो कहिल्यै देखेको छैन ।’
उनले थप भनेका छन्,‘इजरायलमा हमासले सयौं मानिसको हत्या गरिदिएका छन् । सुतिरहेका मानिसको हत्या भएको छ । कयौं महिलाको बलात्कारपछि ज्यान लिइएको छ । सयौं मानिसहरू अपहरणमा परेका छन् जसमा बच्चा पनि छन् ।’
बाइडेनसँगको कुराकानीमा उनी भन्छन्,‘हाम्रा सैनिकको घाँटी रेटी हत्या गरिएको छ । हमासले सबैको ज्यान लिने योजना नै बनाएका थिए । हामीले देशको इतिहासमा यस्तो कहिल्यै देखेको थिएनौं । हमास त आईएस आतंकवादीभन्दा खराब रहेछन् । हामीले उनीहरूलाई अब कठोर जवाफ दिनुपर्छ ।’
Prime Minister Benjamin Netanyahu spoke this evening with @POTUS Joe Biden for the third time since the outbreak of the war:
“We’ve never seen such savagery in the history of the State. They’re even worse than ISIS and we need to treat them as such.” pic.twitter.com/6MCv3baluZ
यसबीचमा इजरायलको संगीत महोत्सवमा ज्यान जोगाउन सफल भएका मानिसहरूले हमासले कसरी आक्रमण गरे भनेर खुलाएका छन् । अक्टुबर ७ तारिखका दिन हमासको अखडा गाजा क्षेत्र नजिकै इजरायलको किबुत्ज इलाकामा संगीत महोत्सव आयोजना गरिएको थियो । संगीत महोत्वस भएको स्थान नजिकै सैन्य क्याम्प पनि थियो ।
बिहान साढे ६ बजे नै गाजा क्षेत्रबाट प्रहार गरिएका सयौं रकेट र क्षेप्यास्त्रहरू संगीत महोत्सवमा उपस्थित हुन पुगेका मानिसहरूले देखेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार मानिसहरूलाई त्यहाँ के भइरहेको छ र छैन भनेर पत्तो नहुँदै हमासका लडाकुहरू सो क्षेत्रमा मोटर साइकल, गाडी, ट्र्याक्टर र प्यारासुट हुँदै पुगिहाले ।
उनीहरूले अन्धाधुन्ध गोली चलाएपछि त्यहाँ भागदौड मच्चिएको थियो । हमासले नजिकैको इजरायली सेनाको सैन्य बेसमा पनि आक्रमण गरिदिए । हमासले यतिधेरै गोली वर्षाएका थिएकी उनीहरू आफ्नो सवारीसाधनसम्म पुग्न डराए । यस घटनामा सयभन्दा बढी कारहरू नष्ट भएका छन् भने त्यो एकै स्थानबाट २६० सर्वसाधारणको शव भेटिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार हमासका करिब ५० लडाकुहरूले जता मन लाग्यो त्यतै गोली चलाइरहेका थिए, त्यहाँ चारैतिर मान्छे थिए । हमासले तीन दिशाबाट आक्रमण गरेको बताइन्छ । संगीत महोत्सवमा उपस्थित मान्छे बस्ने क्याम्पिङ, बार र क्याटरिङ क्षेत्रबाट गोली बर्साइएको थियो ।
हमासका लडाकुहरू यतिमै मात्र रोकिएनन् उनीहरू नजिकैका गाउँमा पनि घुसे त्यहाँ पनि गए र कयौं मानिसहरूलाई बन्धक बनाएर लगे ।
यतिबेला इजरायलले हमासको अखडा गाजा पट्टीमा भिषण आक्रमणहरू गरिरहेको छ । हमासले इजरायललाई गाजामा आक्रमण नगर्न चेतावनी दिँदै, आक्रमण भएको खण्डमा अपहरणमा परेका मानिसहरूको हत्या गरिदिने बताएको छ ।
हमासले गत शनिबार एकैदिन इजरायलतर्फ ५००० रकेट पनि आक्रमण गरेको थियो । हामासको आक्रमणमा इजरायलमा १२ सयभन्दा बढीले ज्यान गुमाएका छन् यस्तै इजरायलको जवाफी कारवाहीमा गाजाका ९५० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुसँगको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति बाइडेनले इजरायललाई थप दोब्बर हतियार दिने वाचा गरेका छन् । यतिबेला इजरायलले यसरी हवाई आक्रमण गरिदिएको छ, गाजा क्षेत्र पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको छ । बीबीसी र दैनिक भास्करको सहयोगमा शिलापत्रमा प्रकाशित