काठमाडौं । हलिउड निर्देशक वुडी एलेनको फिल्म ‘कुप डे चान्स’को वर्ल्ड प्रिमियरको क्रममा भेनिस फिल्म फेस्टिभलबाहिर विरोध प्रदर्शन भएको छ । निर्देशक एलेनलाई रेडकार्पेटमा आतिथ्य प्रदान गरेर फेस्टिभलले ‘रेप कल्चर’लाई पश्रय दिएको भन्दै प्रदर्शनकारीले अर्धनग्न भएर प्रदर्शन गरेका थिए ।
सोमबार राति भेनिसमा एलेन निर्देशित उक्त फिल्मले तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । प्रदर्शनकारीको समूहले ‘नो रेप कल्चर’जस्ता नारा लगाएको थियो । ‘हामीले निर्देशकबाट पीडित भएका र आवाजविहीनको आवाज बोलिरहेका छौं, बलात्कारी रोगी होइन, ऊ पितृसत्ताको स्वस्थ छोरा हो, बलात्कारी निर्देशकको लागि कुनै स्पटलाइट जरुरी छैन, अलौकिक मानिसको अस्तित्व छैन,’ लगायतका नारा लगाइएका थिए ।
एलेन रेडकार्पेटमा निस्कनुअघि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले चर्का नारा लगाउनुअघि वस्त्र उतारेका थिए । केही मिनेटसम्म प्रदर्शन चलेपछि प्रहरीले आएर हटाएको थियो । मेलानिया नाम गरेकी प्रदर्शनकारीले हलिउड रिपोर्टरलाई बताएअनुसार उनीहरुले ‘बलात्कार संस्कृति’ भनिने प्रवृत्तिको विरोधमा प्रदर्शन गरेका थिए ।