राजविराज । शिबचन्द्र कुसवाहाले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई राजनीति ज्ञान नभएको बताएका छन् ।
शनिबार राजविराजमा संचारकर्मीहरुसँग कुराकानी गर्दै कुसवाहाले उक्त कुरा बताएका हुन् । कुसवाहा उप निर्वाचनमा नेकपा माओवादी केन्द्र परित्याग गरि जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए ।
पराजित भएका उनलाई जनमत पार्टीले निष्कासन गरेको छ ।
उनले सिके राउतले आफुसंग २ वटा सहमति गरेर कुनै पूरा नगरेको र हराउन पनि भुमिका खेलेको बताए । पार्टीमा पद दिने र निर्वाचनमा आर्थिक समेत सहयोग गर्ने प्रतिबद्धता गरेपनि पूरा नगरेको बताए । ‘प्रतिबद्धता अनुसार आर्थिक सहयोग मागेपछि राउतले टिकट दिनु सस्तो नभएको प्रतिक्रिया दिनुभयो’ कुसवाहाले भने, ‘उहाँसँग राजनीतिक र व्यवहारिक ज्ञान तथा सामाजिक अनुभव छैन जसका कारण मलाई पराजितसम्म हुनुपरयो।’
राजनीति ज्ञान नहुँदा बाहिरका धेरै व्यक्ति बोलाएर निर्वाचन क्षेत्रमा खटाएको भन्दै उनले मलाई प्रयोग गरि डा. सिके राउतले संगठन बनाउन ध्यान दिई आफूलाई वेवास्ता गरेको बताए ।
उनले आफूलाई कुनै आर्थिक सहयोग नगरी आफ्नै निर्वाचनको नाममा विभिन्न संघ–संस्थासँग आर्थिक सहयोग लिएर राखेको बताए ।














