काठमाडौं । मिसेल योह सर्वश्रेष्ठ अभिनेत्रीको विधामा ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिला बनेकी छन् । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्ड समारोहमा उनले ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ट्रफी उचालिन् ।
‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता चर्चित मार्सल आर्ट्स फिल्ममा अभिनय गरेको लामो समयपछि अन्ततः योहले अवार्ड जितेकी हुन् । ड्यानियल क्वान र ड्यानियल सिनर्टद्वारा निर्देशित उक्त फिल्ममा योहले एभिलन वाङ नामक एक चिनियाँ पात्रको भूमिका निर्वाह गरेकी छन् ।
‘आजको रात साना केटाकेटीको लागि आशा र सम्भावनाको किरण हो,’ मञ्चमा अवार्ड ग्रहण गर्दै उनले भनिन्, ‘मेरो जित सपना साकार हुन्छ भन्ने प्रमाण हो । महिला साथीहरु तपाईंहरुले आफ्नो महत्वपूर्ण समय पार भयो भनेर नभन्नुस् । कहिल्यै हार नमान्नू ।’
योहले यो पुरस्कार आफ्नी आमा र विश्वका सबै आमालाई समर्पित गरिन् । ‘उनीहरू वास्तविक सुपरहिरो हुन् । तिनीहरू बिना हामी कोही पनि आज राति यहाँ हुने थिएनौं,’ उनले भनिन् । ओस्कारमा अभिनेत्री योह ओस्कार जित्ने तेस्रो महिला हुन् । यसअघि ‘मिनारी’का लागि युह-जुंग युन र “सियोनारा”का लागि मियोशी उमेकीले जितेका छन् । तर सर्वश्रेष्ठ अभिनेत्री विधामा जित्ने योह पहिलो एसियाली अभिनेत्री हुन् ।