काठमाडौं । हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरिरहेको राजेन्द्र लिङ्देनको राप्रपाले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट हाल्ने तयारी गरेको छ । नेम्वाङ हिन्दू राष्ट्र मासेर धर्मनिरपेक्षता कायम गर्ने एक जना मुख्य व्यक्ति हुन् ।
जनभावनाविपरीत नेम्वाङसहित केही नेताको जोडबलमा संविधानमा जबर्जस्ती धर्मनिरपेक्षता घुसाउँदा अहिले नेपालमा क्रिश्चियन मिसनरीहरु फस्टाएका छन् । सनातन हिन्दू संस्कृति मास्ने क्रम तीव्र रुपमा बढिरहेको छ । धर्म निरपेक्षता भित्र्याएर बढिरहेको इसाइकरणविरुद्ध आवाज उठाएर हिन्दू राष्ट्रको वकालत गरिरहेको राप्रपा राष्ट्रपति चुनावमा भने यो परिस्थिति निम्त्याउने व्यक्तिलाई मत दिन तयार भएको हो ।
खासगरी झापा घर भएका, एमालेको सहयोगमा चुनाव जितेका र अझ जनजाति सोचबाट माथि उठ्न नसकेका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको सिद्धान्त बिर्सिएर जनजाति भनेर जातीय हिसाबले नेम्वाङलाई मत दिने मनस्थितिमा छन् । जसले गर्दा पार्टीभित्र चर्को असन्तुष्टि बढेको छ । हिन्दू राष्ट्रका कट्टर पक्षधरले धर्मनिरपेक्षता ल्याउने मुखिया नेम्वाङलाई मत दिन नहुने अडान लिएका छन् । मत दिने अवस्था बनेमा पार्टीबाट अलग हुने चेतावनी दिएका छन् ।
अझ प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त राजतन्त्रको एजेण्डा बोकेर गणतन्त्रको राष्ट्रपति पदको निर्वाचनमा सहभागी हुन नमिल्ने भन्दै चुनाव बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् । तर अध्यक्ष लिङ्देन जनजातिको जातीय सेन्टिमेन्ट बोकेर नेम्वाङलाई मत दिन अग्रसर भएका छन् । यसले उनी पनि हिन्दू राष्ट्रको नाममा जनतालाई झुक्याएर ढोंग रचिरहेको पुष्टि भएको छ ।
यसअघि कमल थापाले हिन्दू राष्ट्रको एजेण्डा बोकेर आफ्नो स्वार्थपूर्ति गरेसँगै अहिले लिङ्देनले पनि एजेण्डालाई कमाइ खाने भाँडो बनाएर जनजाति सेन्टिमेन्टमा पार्टीलाई उपयोग गरिरहेका छन् ।