म्याग्दी । कालीगण्डकी नदीको शिला हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने शालिग्राम शिला पाइने नदी हो । कालीगण्डकीलाई हिन्दू धर्मावलम्बीले कृष्णागण्डकीको रुपमा पनि चिन्ने गर्दछन् ।
भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको बुधबार नापजाँच गरिएको छ । भारत सरकारको प्रस्ताव र नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार अयोध्यामा कालीगण्डकीको शिला पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।
‘सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारमार्फत बेनी नगरपालिकालाई शिला उपलब्ध गराउन पत्राचार गरेको थियो’, उनले भने, ‘बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानदेखि तीन किलोमिटर उत्तर गलेश्वरसम्म करिब दश दिन लगाएर शिलाको अध्ययन र पहिचान भएको थियो ।’
प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले बेनी नगरपालिका–६ र ८ वडाको सिमानामा पर्ने रातो पहिरोमा पहिचान भएको दुई शिलाको नापचाँच गरेको हो ।