काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका हुन्।
ओली र लामिछानेबीच सरकारका नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँडको विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच शनिबार बिहान समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पु¥याउन सकिन्छ, सरकारका काम कारबाही प्रभावकारी ढंगले कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन्।
सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको विषयमा प्रचण्ड–ओली र लामिछानेबीच निरन्तर संवाद भइरहेको छ। नयाँ सत्ता गठबन्धनमा एमाले पहिलो, माओवादी दोस्रो र रास्वपा तेस्रो दल हो।
