काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गठबन्धन १५ वर्षसम्म टिक्ने घोषणा गरेका थिए ।
स्थानीय तहको निर्वाचनदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिँदासम्म कांग्रेस र माओवादी मिलेरै जाने संकेत देखिएको थियो । तर, अन्तिम समयमा दुई पार्टीबीच छुटीभिन्न भयो । आइतबार दिउँसो १ बजे बालुवाटारबाट प्रचण्ड खुमलटार जाँदासम्म कांग्रेस र माओवादीकै सरकार बन्नेमा देउवा विश्वस्त थिए ।
तर खुमलटार पुगेका प्रचण्डलाई देउवाले प्रधानमन्त्री तपाई नै हुने आफ्नो पार्टीको निर्णय सुनाउँदा प्रचण्डले ढिलो भइसकेको उत्तर दिएर सिधै बालकोट हान्निए । जहाँ पहिलेदेखि नै एमाले अध्यक्ष केपी ओलीले माओवादीका नेताहरु वर्षमान पुन, देव गुरुङलाई राखेका थिए ।
पछि प्रचण्ड नारायणकाजी श्रेष्ठ लिएर गएका थिए । स्रोतका अनुसार प्रचण्डलाई कांग्रेसबाट अलग्याउन चीनले ठूलो भूमिका खेलेको छ । उपचार गराउन भन्दै चीन पुगेका वर्षमान पुनमार्फत नै चीनले कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याएको स्पष्ट छ । किनभने चीनबाट फर्केलगत्तै वर्षमान पुन कांग्रेस सभापति देउवासँग झोक्किँदै आएका थिए ।
उनले एमालेका दोस्रो तहका नेताहरुसँग सघन वार्ता अघि बढाएका थिए । यो कुराको छनक कांग्रेस नेताहरुले पाउँदै पाएनन् । त्यति मात्र होइन, प्रचण्डसँग निरन्तर खुमलटारमा एमालेका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेलको वार्ता हुँदा पनि कांग्रेसले थाहा पाएन । त्यतिबेलै नै ओलीले प्रचण्डलाई भेट्न बालकोट बोलाएका थिए।
तर प्रचण्डले कांग्रेस नेताहरुले थाहा पाउने भएकाले अन्तिम समय मात्र भेटौं भनेर ओलीलाई फोनमा भनेका थिए । यो कुराको रहस्य एमाले नेताहरुले शीतल निवासमा खोलेका थिए । त्यही कारण एक घन्टाको बसाइमै प्रचण्ड कसरी प्रधानमन्त्री बने भन्ने कुराले पनि पुष्टि गर्छ ।
चीनकै कारण प्रचण्ड कांग्रेसलाई छाडेर एमालेसँग मिल्न गएको रहस्य खुलेपछि देउवा आगो भएका छन् । सोमबार शीतल निवासमा प्रधानमन्त्रीको शपथमा देउवा र प्रचण्ड सँगै सोफामा बसे पनि दुईतिर मुख फर्काएर बसेको तस्बिर अहिले भाइरल बनेको छ । जुन तस्बिर फोटोग्राफर नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।














