काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान परियोजनाका लागि भारतले ५० करोड रुपैयाँ पठाएको छ।
गत असोजदेखि निर्माण थालिएको उक्त परियोजनालाई अघि बढाउन भारत सरकारले पहिलो किस्तास्वरुप ५० करोड उपलब्ध गराएको हो।
यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए।
भारत सरकारको नेपाली रुपैयाँ हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक हो।
यस परियोजनाको कूल क्षेत्रफल झन्डै ८४ एकड रहेको छ। क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफलमा छ। स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवन निर्माण गरिँदैछ।
दिगो विकास मापदण्ड अनुरूप निर्माण हुने यो परियोजना वातावरण एवम् ऊर्जामैत्री हुनेछ। आधुनिक सेवा–सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार उपलब्ध गराउनेछ।
