कोहलपुर । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिँदैछ । त्यसका लागि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले आज एउटा महत्त्वपूर्ण सम्झौता पनि नगरपालिकाले गरेको छ ।
राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि समितिसँग सम्झौता गरिएको नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । उक्त सम्झौतासँगै कोहलपुर नेपालगञ्ज सडकखण्डको साझा चोकदेखि हाईस्कुल सम्मको सडक डिभाइडरमा रेलिङ्गसहित बृक्षारोपण गरी सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गरिनेछ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिले कोहलपुर नगरपालिकालाई तीस लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बाँकी अपुग रकम कोहलपुर नगरपालिका आफैंले ब्यहोर्ने सहमति पनि भएको नगर प्रमुख आचार्यले जानकारी दिए ।
सम्भाब्यता आँकलन, निरीक्षण र स्थान छनौट प्रक्रिया पूरा गरी कार्यक्रम गर्ने सहमति बनेको हो । कार्यक्रम चालू आर्थिक वर्षबाटै कार्यान्वयनमा आउनेछ । राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका कार्यकारी सदस्य भेषराज आचार्यले “जनताको रहर हरित सहर” बनाउने अभियान अन्तर्गत नगरपालिकासँग सहकार्य गरिएको बताए ।
“कोहलपुर नगरपालिका र समितिको ध्यान अब हरियाली शहर निर्माणका लागि केन्द्रित हुनेछ,” सम्झौतापछि उत्साहित हुँदै समिति सदस्य भेषराजले भने-“मेयरज्यूको हरित नगर बनाउने अभियानमा जोडिन पाउँदा हामी खुसी छौँ ।” सम्झौता हस्तान्तरण कार्यक्रममा राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका प्रमुख भरत भट्ट, साइड इन्चार्ज सुरज थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।
