महेश सिंह लहान सिरहा -वित्तीय ज्ञानमार्फत सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्यले मुक्ति नेपाल, गोलबजारको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
“वित्तीय ज्ञान, सुरक्षित भविष्यको पहिचान” तथा “समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार” भन्ने मूल सन्देशका साथ आयोजित कार्यक्रममा हिंसा प्रभावित भई मुक्ति नेपालबाट जीविकोपार्जन सहयोग प्राप्त गरेका ५० जना लाभग्राहीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका सहजकर्ता शिवकुमार साह, प्राइम बैंकका शाखा प्रबन्धकले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नियमित बचत, बैंकिङ सेवाको उपयोग, आम्दानी–खर्च व्यवस्थापन तथा भविष्यका लागि आर्थिक योजना निर्माणमा जोड दिए। उनले साना–साना बचतले समेत ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्दै सहभागीहरूलाई औपचारिक वित्तीय प्रणालीसँग जोडिन आग्रह गरे।
कार्यक्रममा मुक्ति नेपालका वरिष्ठ लेखा अधिकृत तथा प्रोग्राम डकुमेन्ट अफिसरले वित्तीय अनुशासन, बचतको महत्व र आत्मनिर्भरताका विषयमा सहजीकरण गरेका थिए। उनीहरूले आर्थिक रूपमा सबल बन्न वित्तीय योजना र जिम्मेवार खर्च व्यवस्थापन आवश्यक रहेको धारणा राखे।
मुक्ति नेपालका जिल्ला संयोजक बिशेश्वर दासका अनुसार कार्यक्रमको मुख्य उद्देश्य हिंसा प्रभावित तथा जीविकोपार्जन सहयोग प्राप्त व्यक्तिहरूलाई वित्तीय रूपमा सक्षम बनाउँदै बचत संस्कृतिको विकास र आत्मनिर्भरतातर्फ उन्मुख गराउनु रहेको हो। उनले यस्ता कार्यक्रमले सहभागीहरूको आर्थिक निर्णय क्षमता अभिवृद्धि हुनुका साथै दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
सहभागीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानले व्यक्तिगत तथा पारिवारिक आर्थिक व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताएका छन्।
