काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पर्सा ४ का नवनिर्वाचित सांसद रमेश रिजालले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । रिजालले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६/६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने ? पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।
कांग्रेसभित्र रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंहको दाबीमा उनले भने, ‘गगनको समय आइसकेको छैन । पछि पछिका लागि भूमिका बनाउनुभएको हो । संसदीय दलमा उहाँले देउवालाई हराउन सक्नुहुन्न । रामचन्द्र पौडेलले बन्छु भनेर मात्र हुँदैन, आफ्नो शक्ति पनि हुनुपर्छ । अब देउवालाई रामचन्द्र, प्रकाशमानले पनि सहयोग गर्नुपर्छ । पछि पालो आउँछ ।’ मधेस प्रदेशमा कांग्रेस हुनुपर्ने जति बलियो नदेखिएको पनि रिजालले स्वीकारे । उनले भने, ‘कांग्रेसको कन्जबिजोग भएको छैन ।
एमाले हामीभन्दा ठूलो पार्टी भएको सत्य हो । मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्री को बन्ने तय भएको छैन ।’ अहिले नै मुख्यमन्त्री पाउने जनमत पार्टीको हैसियत नभएको पनि उनले औंल्याए । उनले समापातिकमा पुरुष सांसद पूर्वपदाधिकारीलाई बनाउने कि पदाधिकारीलाई बनाउने भन्ने मापदण्ड नबनेको बताए ।
‘कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । त्यसमा तीन जना मात्र पुरुषले पाउनुहुन्छ । महाभारत भए पनि रामायण भए पनि छान्नैपर्यो । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत सबै योग्य छ । जीवन परियार, फर्मुल्लाह मन्सुरको दाबी पनि उचित हो । अहिले मेरो, तपाईंको अनुमान मात्र हो । पार्टीको बैठक नबसीकन कसरी भन्न सकिन्छ ? हामीले चाहेर मात्र हुँदैन । बहुमतले जे तय गर्छ, त्यही हुन्छ,’ पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।