काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा सम्पन्न निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत जुटाएको छ । १६२ क्षेत्र र समानुपातिकको गणना सकिएर आएको नतिजामा १३३ सिट सुनिश्चित गरेको गठबन्धनले गणना भइरहेको दोलखा, स्याङ्जा–२ र बाजुरा पनि जित्ने देखिएको छ ।
दोलखामा माओवादी र स्याङ्जा–२ तथा बाजुरामा कांग्रेसको अग्रता छ । यी तीन सिट जोड्दा १३६ सिट पुग्छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एस, लोसपा, जनमोर्चा छ । यी दलबाट १३३ निर्वाचित र ३ सिट पनि जित्ने गरी १३६ सिट पुगेको छ । २७५ सदस्यीय प्रतिनिधिसभाबाट सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । अपुग २ सिट पूर्ति गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मनाइसकेका छन् ।
प्रत्यक्षमा एक र समानुपातिकमा चार गरेर जनमतको पाँच सिट छ । १३६ मा पाँच जोड्दा १४१ सिट पुगेको छ । जुन बहुमतका लागि पर्याप्त हो । अग्रता रहेको ३ सिट नजिते पनि जनमत सत्ता गठबन्धनमा जोडिदा बहुमत पुग्छ । जनमत पार्टीले उठाएका मुद्दा सम्बोधन गर्ने शर्तमा प्रधानमन्त्री देउवाले सीके राउतलाई सरकारमा सहभागी हुन राजी गराइसकेका छन् । जसका कारण सत्ता गठबन्धनको बहुमत पुग्ने निश्चित भएको हो ।
बहुमत जुटेसँगै गठबन्धनबाट कांग्रेसको नेतृत्वमा सरकार बन्दैछ । नेतृत्व सभापति देउवाले गर्नेछन् । अर्कोतिर जनमत सत्ता गठबन्धनमा जोडिँदा प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने छ । कांग्रेसले नेतृत्वमा दाबी गरेको छ । सत्ता गठबन्धनको अंकगणित कांग्रेसले हालसम्म प्रत्यक्षतर्फ ५५ सिट जितेको छ भने समानुपातिकतर्फ मत विभाजक सुत्रअनुसार ३२ सिट पाउने देखिन्छ । कांग्रेसको कुल सिट ८७ हुन्छ ।