काठमाडौं । सनसरी १ धरानबाट प्रतिनिधिसभा उम्मेदवार बनेका जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईलाई एमालेका नेता कार्यकर्ताले असहयोग गरेका छन् ।
विगतमा एमाले नेता रहेका राईले धरानमा पार्टीलाई कमजोर बनाएको, विभिन्न पार्टी चहार्दै एमालेको गढमा असर पारेको भन्दै एमालेका प्रतिबद्ध नेता कार्यकर्ताले अवसरवादी राईलाई साथ नदिने अडान लिएका हुन् ।
अर्कोतिर सुनसरी १ मा अशोक राईलाई समर्थन गर्ने नेतृत्वको निर्णयमा असन्तुष्ट नेता कार्यकर्ताको प्रतिनिधित्व गर्दै धरान उपमहानगरपालिकाको पूर्व मेयरसमेत एमालेको प्रदेश १ का सचिवालय सदस्य मनोजकुमार मेन्याङबो बागी उठेका छन् । असन्तुष्ट नेता कार्यकर्ताले मेन्याङबोलाई साथ दिने बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको अस्तित्व समाप्त पार्ने गरि जसपासँग सहकार्यका नाममा पार्टीको गढमा राईलाई टिकट दिएपछि मनोजकुमारले विद्रोह गरेका हुन् । एमालेले सुनसरी क्षेत्र नम्बर १ मा निवर्तमान सांसद जयकुमार राईको एकल नाम सिफारिस गरेको भए पनि नेतृत्वले पार्टीले जित्ने क्षेत्रमा जसपालाई टिकट दिएपछि आफू बागी बनेको मनोजकुमारको भनाइ छ ।
एमालेको आधार इलाका मानिने धरानमा पार्टी नेतृत्वले गलत व्यक्तिलाई टिकट दिएका कारण पराजित हुनुपरेको भन्दै आफूले एमाले पार्टीको अस्तित्व बचाउन अघि सरेको र आफूलाई पार्टीको साथ रहेको उनी बताउँछन् ।
एमाले प्रदेश १ का सदस्य किशोर कार्कीले पार्टी नेतृत्वको गलत र निरंकुस प्रबृतिका कारण मनोज मेन्याङबोलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि अगाडि सारिएको र सिंगो एमालेको साथ रहेको उद्घोष गरे ।
यसरी अवसरवादीको ट्याग लागेका अशोक राईलाई सुनसरीमा एमालेका प्रतिबद्ध नेता कार्यकर्ताबाट असहयोग भए पछि चुनावी परिस्थिति असहज बनेको छ ।