काठमाडौं । सन् २०२२ को सुरुवातमा चीनमा हुने हिउँदे ओलम्पिकको अमेरिकाले कूटनीतिक बहिष्कार गर्ने भएको छ । ह्वाइट हाउसले चीनमा भइरहेको मानवअधिकार उल्लंघनका घटनालाई मध्यनजर गर्दै चीनमा हुने हिउँदे ओलम्पिकमा आधिकारिक रूपमा कुनै प्रतिनिधिमण्डल सहभागी नहुने घोषणा गरेको हो । तर खेलाडीहरूलाई भने खेल्न रोक नलगाइने अमेरिकाले जनाएको छ ।
फेब्रुअरीमा हुने खेलका लागि खेलाडी प्रशिक्षणमा रहेको र सरकारका तर्फबाट पूर्ण सहयोग हुने ह्वाइट हाउसले जनाएको छ । चीनले यसअघि नै बहिष्कार गरिएको अवस्थामा ‘कडा जवाफी कदम चालिने’ बताएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडनेले गत महिना २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गरिने बताएका थिए । सोमबार ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले चीनमा हुने ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गरिने कुराको पुष्टि गरेकी हुन् । उनले भनिन्, ‘यी खेलमा अमेरिकी कूटनीतिज्ञ तथा आधिकारिक प्रतिनिधि सहभागी हुनु भनेको चीनको सिनजियाङमा भइरहेको मानवअधिकार हनन र अत्याचारलाई नजरअन्दाज गर्नुजस्तै हो, हामी यस्तो गर्न सक्दैनौँ ।’
यसअघि सन् १०८० मा अमेरिकाले मस्को ओलम्पिकबाट खेलाडी फिर्ता बोलाएको थियो । अफगानिस्तानमा सोभियत संघले गरेको आक्रमणको विरोधमा अमेरिका उक्त ओलम्पिकमा सहभागी भएको थिएन । त्यसैको बदलामा सोभियत संघ पनि सन् १९८४ मा लस एन्जलसमा भएको ग्रीष्मकालीन ओलम्पिकमा सहभागी भएन ।
प्रेस सचिव साकीले प्रशिक्षणमा रहेका खेलाडीलाई प्रतियोगिताबाट वञ्चित गराइनु उपयुक्त नभएकाले कूटनीतिक रूपमा बहिष्कार गरी चीनलाई ‘स्पष्ट सन्देश दिन’ खोजिएको बताएकी छिन् । अमेरिका आफैले सन् २०२८ मा लस एन्जलसमा ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्दैछ । चीनमा मानवअधिकार उल्लंघनका घटना बढिरहेको भन्दै डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका सांसद हिउँदे ओलम्पिक बहिष्कार गर्नुपर्ने पक्षमा देखिएका थिए । पछिल्लो घोषणाको दुवैतर्फबाट प्रशंसा भएको छ ।
अमेरिकापछि न्युजिल्यान्डले पनि चीनमा हुने हिउँदे ओलम्पिकमा कूटनीतिक अधिकारी नपठाउने बताएको छ । मंगलबार न्युजिल्यान्डका उपप्रधानमन्त्री ग्रान्ट रोबर्टसनले ओमिक्रोन भेरिएन्टको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको जानकारी दिएका छन् ।
बेइजिङ हिउँदे ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म बेइजिङ नगरपालिका र छिमेकी हपै प्रान्तको चाङ्च्याखौमा आयोजना हुनेछ। चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न लागेको यो पहिलोपटक हो। । सन् २०१९ को डिसेम्बर ३० तारिखमा बेइजिङ(चाङच्याखौ उच्च(गतिको रेल सञ्चालनमा ल्याइएको छ जसबाट प्रतियोगितास्थलसम्म पुग्न एक घण्टा मात्रै लाग्छ। एजेन्सी