काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार भएका बेला मिडियाले गलत प्रचार गरेर भ्रम फैलाउने काम गरेको भन्दै आक्रोश पोखेका छन् । टेलिभिजन, रेडियो, सामाजिक सञ्जाललाई प्रयोग गरेर त्यसबेला सरकारविरुद्ध भ्रम फैलाउने काम गरेको उनको भनाइ छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गरे । एक नेताले पदका लागि उपदो मच्चाएपछि आफूले अभिनयका साथ ‘मलाई त पदमै रस बस्यो, पद नभई भएन’ भन्छन् भनेर बोलेको, तर एउटा टेलिभिजनले मलाईं नभई हुँदैन’ भनेर देखाएर आफूलाई बद्नाम गर्न खोजेको उनले बताए ।
सोसल मिडियामा हुने यस्तो गलत प्रचारको प्रतिवाद गर्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरेका छन् । कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उनले बताए । ‘हामी पनि यस वारमा यथाशक्य सामेल हुनुपर्छ । हामी ठूलो संख्यामा छौं । ठूलो संख्यामा भएकाले हामी सरिक भयो भने कसैमा भ्रम पर्न जरुरी छैन’, अध्यक्ष ओलीले अघि भने ।