काठमाडौं । १५२औँ गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । नेपालका लागि भारतीय कार्यबाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका हुन् ।
भारतीय राजदूतावास बिपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा सिभाता लभ फाउन्डेसनले कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि १७ देखि २२ असोजसम्म खुला रहनेछ ।
गान्धी जयन्तीको अवसरमा नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा स्तन तथा पाठेघर क्यान्सर जाँच एवं जनचेतना कार्यक्रम गरेको छ । भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आइक्यान)ले सोही भवनमा रक्तदान शिविरको आयोजनासमेत गरेको छ ।
नेपाल–भारत पुस्तकालयमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको भारतीय दुतावासले जनाएको छ ।
प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरूको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादीका महोत्सव’ को एक कार्यक्रमको रूपमा गान्धी जयन्ती मनाइएको भारतीय दूतावासले जनाएको छ । नयाँपत्रीका