महेश सिंह लहान सिरहा – रासायनिक विषादीको अत्यधिक प्रयोग, पराल जलाउने प्रवृत्ति र प्लास्टिकजन्य फोहोरले जलवायु परिवर्तनलाई तीव्र बनाइरहेका बेला सिरहा र सप्तरीका गाउँबस्तीमा सडक नाटकमार्फत किसानलाई विषादीरहित तथा जलवायुमैत्री खेतीतर्फ आकर्षित गर्ने अभियान सञ्चालन गरिएको छ।
केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालको आर्थिक सहयोग तथा मीता मिडिया प्रालिको आयोजनामा सञ्चालित ‘जलवायु मैत्री गाउँ परियोजना’ अन्तर्गत सिरहा र सप्तरीका ६ स्थानीय तहका विभिन्न वडामा सडक नाटक प्रदर्शन गरिएको हो।
नाटकमा रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोग, बाली अवशेष जलाउने चलन, प्लास्टिकको बढ्दो प्रयोग तथा गोबरबाट गुइँठा बनाएर बाल्ने अभ्यासले माटोको उर्वराशक्ति घटाउने, वातावरण प्रदूषण बढाउने र मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्ने विषयलाई स्थानीय जीवनसँग जोडेर प्रस्तुत गरिएको थियो।
सिरहाको धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी र भगवानपुर गाउँपालिका तथा सप्तरीको अग्निसाइर कृष्णासवरन र रुपनी गाउँपालिकाका विभिन्न स्थानमा नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ।
नाटकमार्फत किसानलाई जैविक मल, हरियो मल, गोबर मल तथा स्थानीय स्रोतमा आधारित दिगो कृषि प्रणाली अपनाउन आग्रह गरिएको थियो। साथै माटोको उर्वराशक्ति संरक्षण, पानीका स्रोतको दिगो उपयोग, जैविक विविधताको संरक्षण र हरियाली प्रवर्द्धनमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा किसान, महिला, युवा, जनप्रतिनिधि, व्यापारी, राष्ट्रिय कृषक समूह महासंघका पदाधिकारी तथा स्थानीय बासिन्दासहित करिब १ हजार ५ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।
नाटकपछि आयोजित अन्तरक्रियामा सहभागीहरूले रासायनिक विषादीको प्रयोग घटाउने, पराल नजलाउने, प्लास्टिकको प्रयोग न्यून गर्ने तथा जैविक मलको प्रयोग बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्थानीय भाषा, संस्कृति र ग्रामीण जीवनशैलीसँग मेल खाने शैलीमा प्रस्तुत गरिएको सडक नाटकले जलवायु परिवर्तनजस्तो जटिल विषयलाई समुदायसम्म सहज रूपमा पुर्याउन सहयोग पुगेको आयोजकको दाबी छ।











