महेश सिंह, सिरहा (लहान) — मातृ तथा शिशु स्वास्थ्य सुदृढ गर्ने उद्देश्यले लहान नगरपालिकामा ‘सुनौलो हजार दिनका आमाहरूसँग ५ वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु गरिएको छ। हेलन केलर इन्टरनेशनलको सहयोग तथा लहान नगरपालिकाको आयोजनामा कार्यक्रम सञ्चालनमा आएको हो।
वैशाख २० गतेदेखि लहान–७ स्थित केयर सेन्टरबाट सुरु गरिएको कार्यक्रममा गर्भवती तथा सुत्केरी आमा र पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको समुदायमै पुगेर मूल्याङ्कन गरिनेछ। कार्यक्रममार्फत कुपोषणको अवस्था पहिचान गरी आवश्यक परामर्श प्रदान गर्ने र जटिल अवस्थामा सन्दर्भ केन्द्रमा प्रेषण गर्ने व्यवस्था गरिएको छ।
कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका प्रमुख महेश चौधरीले गरेका थिए। उद्घाटन कार्यक्रममा उनले ‘सुनौलो हजार दिन’ अवधिलाई बालबालिकाको समग्र विकासको आधार मान्दै यस अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्ने बताए।
दलित विकास मंच गोलबजारको सहकार्यमा सञ्चालन भइरहेको उक्त कार्यक्रम सिरहाका १७ वटा स्थानीय तहमा विस्तार गरिएको दलित विकास मंचका कार्यकारी निर्देशक संजय महराले जानकारी दिए। उनका अनुसार कार्यक्रमले समुदायमै कुपोषणको जोखिम पहिचान र न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आजको कार्यक्रममा करिब ४० जना बालबालिकाको स्क्रिनिङ गर्ने लक्ष्य राखिएको पोषण सहजकर्ता सरस्वती विश्वकर्मा र शोभा महराले बताए। सहभागी सेवाग्राहीहरूले कार्यक्रम मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमले स्थानीय आमाहरूमा सन्तुलित आहार, स्तनपान, सरसफाइ तथा बाल हेरचाहसम्बन्धी व्यवहार सुधारमा सहयोग पुर्याउने विश्वास गरिएको छ। लहान नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै कुपोषण न्यूनीकरणमा थप पहल गर्ने जनाएको छ।












