सिरहामा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–१ का ४४ वर्षीय प्रेमनाथ यादवको खेतमै गोली हानी हत्या भएको हो।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोलाको किनार नजिक आफ्नै खेतमा ट्र्याक्टरले जोत्ने काम गरिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली चलाएका थिए। गोली लागेपछि यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले प्रारम्भिक निरीक्षणबाट गोली हानी हत्या गरिएको पुष्टि गरेको छ। यद्यपि कसले र किन गोली चलायो भन्ने विषयमा हालसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।














