नेपालगञ्ज । तीन दिन अघि विद्यालय जान हिँडेका बुटवलका तीन तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन् । शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरुको बेहोसीजस्तै अवस्थामा रहेको हराएका मध्ये सागर पौडेलका मामा राजु पन्थीले बताए ।
‘हराएका बालक विपिन लम्सालले बाबुहरुलाई त्यो स्टेशनमा भेटाएको खबर हामीलाई शनिबार राती २ बजे दिनुभयो, उनीहरुको होस खासै छैन रे, बरबराए जस्तो गरेका छन् रे, अब हामी यताबाट प्रहरीको पत्र बनाएर लिन जाँदैछौं’ उनले भने ।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए। तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।
बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन् । हराएका समीर लम्सालका बुबाले दिएको जानकारी अनुसार उनीहरुसँग झोलाहरु पनि भेटिएको छैन तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्ने विषय नै अन्यौल भएको छ ।
समीर लम्सालका बुवाले सागर पौडेलका मामा राजुलाई दिएको जानकारी अनुसार उनीहरु ठूलो गिरोहबाट नै अपहरण भएको हुनसक्ने भएकाले यसको वास्तविक कारण पत्ता लगाउन नेपालको प्रहरीको साथ आवश्यक भएको बताएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएको र उनीहरुलाई सहज तरिकाले ल्याउन र यसको कारण पत्ता लगाउन अनुसन्धान थाएिको बताए ।
केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीयहरुले विद्यार्थी अपहरण गरेर लैजान थालेको विषय सामाजिक सन्जालमा भाइरल बनिरहेका बेला बुटवलमा भएको यो विषयले विद्यार्थी तथा अभिभावकलाई थप त्रसित बनाएको छ । नेपाल प्रेस














