काठमाडौं । ‘आशिन तीन, कारी दिन’ भन्दै लोकतान्त्रिक समाजवादी पार्टीले प्रदर्शन गरेको छ ।
संविधान दिवस २०७८ को विरुद्धमा लोसपाका नेताकार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका हुन् ।
जनकपुरको जनकचोकबाट आइतबार दिउँसो निस्केको विरोध जुलुस जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै पुन जनकचोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सम्बोधन गर्दै लोसपा नेता तथा प्रदेश सांसद परमेश्वर साहले संविधानमा मधेशी, आदिवासी, जनजाती, मुस्लिम, थारुलगायत सबैको अधिकार सुनिश्चित नभएसम्म आजको दिनलाई कालो दिवसको रुपमा मनाइरहने बताए ।
उनले संविधान संशोधन गर्नुपर्ने, झुठा मुद्दाहरु खारिजी गर्नुपर्ने, मधेशीलाई प्रताडित गर्ने काम बन्द गर्नुपर्ने, सबै नेपाली नागरिकको संविधान बनाउने कोशिस गर्नुपर्नेलगायतका माग गरे ।
विरोध र्यालीमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता मिश्र, वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, लोसपाका नेताहरु राजिव झा, राजु चौधरी, विन्दु ठाकुर, पूनम झा मैथिली, विवभा पाण्डेय, पुष्पा यादव, नाजिर हुसैन, इन्द्रकुमार झा मधेशानन्द, संजय चौधरी, सदाशिव मिश्र, महाशंकर ठाकुर, प्रमोद यादव, ज्ञानेन्द्र झा ज्ञानुलगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यस्तै लोसपाले संविधानको विरोधमा आज साँझ ६:१५ देखि ६:३० सम्म बत्ती निभाएर ‘बल्याक आउट गर्ने तय गरेको छ ।