डोरोथी बटलर गिलियमले अमेरिकाको प्रमुख अखबारमा एक अश्वेत महिला पत्रकारको रूपमा आफ्नो करियर सुरु गरिन्, जुन बेला समाज विभाजनमै थियो । गोरा पुरुषहरूको संसारमा अश्वेत महिलाको रूपमा काम गर्दाको अनुभव र करियरमा यसको प्रभावबारे बीबीसीकी फरहाना हैदरले गरेको कुराकानीको सम्पादित अंश :
डोरोथी पत्रिकामा काम गर्ने पहिलो अफ्रिकन–अमेरिकन महिला हुन् । उनले सन् १९६१ मा आफ्नो करियर सुरु गरेकी थिइन् ।
त्यसपछिको तीन दशकसम्म उनले सम्पादक र स्तम्भकारको रूपमा काम गरिन् । त्यसै उनी अमेरिकी समाज र मिडियामा आएको परिवर्तनको साक्षी बनिन् ।
खासमा डोरोथी दुर्घटनावश पत्रकारिता क्षेत्रमा आएकी हुन् । कलेजको पहिलो वर्ष उनी लुइसभिल डिफेन्डर नामक अश्वेतको एउटा साप्ताहिक अखबारमा सचिवको रूपमा आबद्ध भएकी थिइन् । एक दिन समाज ब्युरोका सम्पादक अस्वस्थ भएपछि उनको जिम्मेवारी डोरोथीले सम्हाल्नुपर्ने भयो । उनीसँगै कुनै अनुभव थिएन । उनलाई केन्टकीको सबैभन्दा ठूलो सहरमा एक रिपोर्ट गर्न पठाइयो ।
अनुभवविनाको पहिलो अनुभवबारे उनी भन्छिन्, “त्यो अनुभवले मेरो आँखा खोलिदियो । त्यसपछि मलाई लाग्यो कि, मैले राम्रोसँग गर्न सकेँ भने मलाई अझै खुल्न मद्दत पुग्छ र नयाँ संसारमा उजागर गराउँछ ।”
कलेज सकेपछि उनी जेट र एबनीजस्ता लोकप्रिय अश्वेत म्यागजिनहरूमा काम गर्न थालिन् । तर, उनको उद्देश्य भनेको दैनिक अखबारमा काम गर्नु थियो । इच्छा अनुरूप डोरोथीले न्यू योर्कको कोलोम्बिया विश्वविद्यालयमा पत्रकारिता कार्यक्रममा ठाउँ पाइन् । पछि उनी २४ वर्षको उमेरमा वाशिङ्टन पोस्टमा आबद्ध भइन् ।
चुनौती
अखबारको पहिलो अफ्रिकन–अमेरिकन महिला रिर्पोटरको रूपमा उनको अनुभव निकै चुनौतीपूर्ण साबित भयो । ट्याक्सीहरू उनका लागि रोकिँदैन थिए । उनी आफ्नो विगतको तितो अनुभव सुनाउँदै भन्छिन, “म पोस्टको बाहिर उभिराख्थेँ र ट्याक्सी चालक गती ‘स्लो’ गर्दै आउथे । तर, नजिक आएपछि मेरो कालोवर्ण देख्नेवित्तिकै एक्सिलेटरको गति बढाउथे ।”
तर पनि उनी आफूमाथि सहकर्मीले गरेको व्यवहारबारे सम्पादकलाई भन्दिन थिइन् । कारण उनी अरू अश्वेत पत्रकारहरूलाई काम नदिने यो कारण नबनोस् भन्ने चाहन्थिन् ।
डोरोथी त्यस्तो विभाजित समाजमा हुर्किएकी थिइन्, जहाँ अश्वेतहरूको कडा कानुन थियो । अश्वेत वर्ण भएकाहरूलाई भोट हाल्न दिइन्नथ्यो । पढाइ र रोजगारीमा प्रतिबन्ध थियो । र, आधारभूत मानव गरिमाबाट अस्वीकार गरिएको थियो ।
वासिङ्टनका रेस्टुरेन्टहरूमा पनि उस्तै विभेद थियो । वासिङ्टन पोस्ट छेउछाउका रेस्टुरेन्टहरूले अफ्रिकन–अमेरिकीहरूलाई सेवा दिदैन थिए । डोरोथी आफूलाई सहज लाग्ने क्याफेटेरिया (अग्रिम पैसा दिएर खाना पाउने ठाउँ) मा गएर खाने गर्थिन् ।
अश्वेतहरूको कथा नयाँ तरिकामा भन्नसक्ने क्षमता आफूभित्र छ भन्ने कुरामा उनी विश्वस्त थिइन् । उनका अनुसार त्यतिबेला मूलधारका पत्रिकाहरूमा पढेका अफ्रिकन–अमेरिकनहरूको नकारात्मक छविको कारण अश्वेतहरूको कुरा नसुनिएको हो ।
यसैबारे उनी भन्छिन्, “म अश्वेतहरूको नकारात्मक कथामात्रै कभर गर्न चाहन्न, किनभने म अश्वेत जीवनको पूर्णस्वरूप कभर गर्न चाहन्छु ।”
डोरोथीले १९६२ मा मिसिसिपी विश्वविद्यालयको एकीकरणसहित प्रमुख नागरिक अधिकार घटनाहरू कभर गरिन् । जहाँ, जेम्स मेरिडिथ नाम गरेका एक युवा विद्यार्थी पहिलो अफ्रिकन–अमेरिकनको रूपमा उक्त विश्वविद्यालयमा भर्ना भएपछि विरोध र दंगा भएको थियो ।
यो घटनामा, उनलाई गोराहरूको वर्चस्वको गढबारे अश्वेत समुदायको प्रतिक्रिया बुझ्ने कार्य दिइएको थियो । गोरो वर्णका पत्रकारहरूको कथा पढ्ने क्रममा उनले थाहा पाइन् कि उनीहरूले अश्वेत मानिसहरूको डराएको छवि चित्रण गरेका रहेछन् ।
मिसिसिपीमा रहँदा उनले गोरो वर्ण भएकाहरूको होटलमा बस्ने अनुमति पाएकी थिइनन् । त्यसैले उनी ‘फ्युनरल’ घरमा लासहरूसँग बस्न बाध्य भइन् ।
पत्रकारितामा ५० वर्ष
तेस्रो सन्तानलाई जन्म दिएपछि अर्थात् सन् १९६० को मध्यतिर डोरोथीले वासिङ्टन पोस्ट छोडिन् । उनलाई ‘पार्टटाइम’ काम गर्न बाध्य बनाइएको थियो । यसरी हप्ताको चार दिन मात्रै काम गर्ने अनुमति पाउँदा त उनको मनोबल नै कमजोर भइसकेको थियो । तर, सन् १९७२ मा उनलाई पोस्टले पुनः काममा बोलायो । यसपटक उनलाई पत्रिकाको ‘स्टाइल सेक्सन’मा सहायक सम्पादकको रूपमा बोलाइएको थियो ।
यो पदमा हँदा डोरोथीले अश्वेतहरूको अनुभवबारे लेख्नसक्ने पत्रकारहरूलाई नियुक्त गर्ने मौका पाइन् । त्यस्तै, सन् १९७९ मा उनले स्तम्भकारको रूपमा पढाइ, राजनीति र जातीयतामा १९ वर्षसम्म कलम चलाइन् । सन् २००३ मा उनी यो पदबाट सेवानिवृत भइन् ।
पत्रकारिताको ५० वर्षको करियरमा उनले सधैँ विविधतालाई जितिन् । उनले नेसनल एसोसियसन अफ ब्लाक जर्नलिस्टहरूको अध्यक्ष र पत्रकारिता शिक्षाका लागि रोबर्ट सी मेनर्ड संस्थानको सह–संस्थापक र कार्यकारी सदस्यको रूपमा पनि काम गरिन् । यी संस्थाहरूले हजारौँ जातीय अल्पसंख्यकहरूलाई पत्रकारको रूपमा तालिम दिए ।