काठमाडौ । केही दिन यता माओवादी केन्द्रलाई विघटन गर्न माग गर्दै केही नेता निर्वाचन आयोग पुगीरहेका छन् । माओवादी छोडेर एमाले प्रवेश गरेका ४ नेताहरुले आफुहरुलाई कारवाही गर्ने वैधानिक अधिकार नभएको माओवादी केन्द्र विघटनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएकै बेला फेरी अर्का नेता नेकपा माओवादी केन्द्र आफ्नो हो भन्दै निर्वाचन आयोग पुगेका छन् ।
माओवादी केन्द्र माथि एक पछि अर्को समस्या उत्पन्न भएसंगै त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समस्या थपिने देखिएको छ । सो पार्टी आफ्नो भएको दावी गर्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पराजुलीले यसअघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी (गौरवशाली) एकता गरेको र प्रचण्डले आफुखुसी पार्टी परित्याग गरी एमालेमा समाहित भएको निवेदनमा उल्लेख गरेका छन् ।
प्रचण्डले सो पार्टी छोडीसकेकाले माओवादीमा उनको कुनै अधिकारी नभएको पराजुलीको तर्क छ । पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वतः आफ्नो हुनुपर्ने दाबी गरेका छन् ।
पराजुलीले नेपालको शान्तिपूर्ण सङ्घर्ष तथा क्रान्तिको नेतृत्व समेत गरी गणतान्त्रिक संविधान तयार गर्नमा अग्रणी भूमिका खेलेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आधिकारिक रूपमा घोषणा गर्दा दशवटा माओवादी पार्टी एकता भनिए पनि मुख्यतः निर्वाचन आयोगमा दर्ता भएका तीनवटा पार्टी एकीकरण भएको उल्लेख गरेका छन् ।
पराजुलीले भनेका छन्, ‘त्यसमध्ये पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको एकीकृत नेकपा (माओवादी), भविसोर नेतृत्वको नेपाल गौरवशाली पार्टी, मातृका यादव नेतृत्वको ने.क.पा. (माओवादी) बीच सम्मानजनक एकता भएको र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को नेपाल गौरवशाली पार्टी एक आधिकारिक प्रमुख घटक भएको यो सत्य तथ्य नै हो ।’
पराजुलीले सम्मानजनक एकता निर्माण गर्ने एकताको प्रमुख घटकको सहमति विना नै पार्टी नीति, विधान, विधि विपरीत तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरेको पराजुलीको भनाई छ । ‘हामीले हाल नेतृत्व गरी विकास गरिरहेको पार्टी नै वैधानिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हो । यसमा कुनै विवाद र शङ्का नै छैन’, पराजुलीले भनेका छन् ।