फागुन १३, बिहिबार
रुपैयाँ पैसालाई नै सबैथोक मान्नेहरुले पैसाको लागि जे पनि गर्न तयार हुन्छन् र पछि हट्दैनन् । यस्तै भएको छ, सिरहाको गोलबजारमा । गोलबजारका एक स्थापित हार्डवेयर व्यापारीको ठगी धन्दाको कालो करतुत बाहिरिएको छ । गोलबजारको पूर्व–पश्चिम लोकमार्ग संगै रहेको नायक श्री इन्टरप्राइजेजका प्रोपराइटर फुलेश्वर नायकले आफ्नै ग्राहकसँग लाखौं रुपैयाँ ठगी गरेको रहस्य बाहिर आएको छ । गोलबजार नगरपालिका वार्ड नं ४ साबिक असनपुर १ मा दलित मुसहर समुदायकै सहभागितामा आरसीसी ढलानको लागि गठित उपभोक्ता समितिबाट व्याजको नाउँमा १ लाख ६० हजार रुपैयाँ ठगी गरेको उपभोक्ता समिति अध्यक्ष कमली देवी सदाले बताइन् ।
उपभोक्ता समिति अध्यक्ष कमली देवी सदाकी कथन अनुसार, हामीले नायक श्री इन्टरप्राइजेज गोलबजारसंग उधारोमा बैंकको तीन वटा खाली चेकमा अध्यक्ष, सचिव र कोषाध्यक्षले संयुक्त सही गरेर दिएपछि निर्माण सामग्री छड र सिमेन्ट खरिद गरियोे र काम पनि सम्पन्न गरे । जब नगरपालिकाबाट उपभोक्ता समितिको खातामा पैसा पठायो र हार्डवेयर पसललाई फर्छौटको लागि पसलमा चेकबूक लिन जाँदा बखत हिसाबबारी गर्दा ८ लाख ४० हजार ३ सय १० रुपैयाको कूल बील बनाएर हामीलाई दियो पनि र गन्थन मन्थन गर्दै खै किन हो हामीलाई थाहा हुन सकेन हामीलाई आज हुँदैन पर्सि आइतबार मात्र आउनु भनेर भन्दा हामीले आज किन हुँदैन भनेर एक छिन डिसकस पनि गरे तर हाम्रो केही चलेन र हामी त्याहाबाट अनतत फर्किए ।भोलिपल्ट शनिबार छोडेर हामी आइतबार फेरि हार्डवेयर पसल पुग्दा हामीलाई झुक्याउँदै समयमा पैसा नतिरेकोले ब्याज तिर्नुपर्छ भन्दै एकोहोरो ९ लाख ९४ हजार ४ सय १० रूपैया त्यही खाली चेक मा भरी पैसा निकासा लियोे र केही बेर बाझाबाझ पनि भयो, आखिर हाम्रो केहि चलेन र पसलबाट बाहिरियौं । हामीलाई अन्याय भएको छ भनेर गुनासो पोखे । त्यस्तै समितिका सचिव रामदयाल सदाले हामी दलित र निमुखा भएकै कारण फुलेश्वर नायकले ठगी गरेको बताए । त्यस्तै समितिका सदस्य संजित सदाले उल्टै हामीलाई हप्काएर ब्याज तिर्नु पर्दैन, बढी बुझ्छस् भन्दै हप्काए । समितिले फुलेश्वर नायकलाई हदैसम्मकों कार्यवाहीको माँग पनि गरेका छन् । गोलबजार नगरपालिका वार्ड नं ४ मा आरसीसी ढलानको लागि २२ लाख रकमको उपभोक्ता समिति विशुद्ध दलित मुसहर समुदायबाट नै ९ सदस्यीय उपभोक्ता समिति गठन भई बिभिन्न बाधा अड्चनको सामना गर्दै सफलतापूर्वक काम सम्पन्न भई नियमअनुसार नै गोलबजार नगरकार्यपालिकाले उपभोक्ता समितिको खातामा पैसा पनि पठाइयो र पैसा निकासा गर्न जाँदा चेकबुक फुलेश्वर नायकले नै बन्धकमा राखेपछि यस्तो समस्या आएको गुनासो गरे । यता नायक श्री इन्टरप्राइजेजका प्रोपराइटर फुलेश्वर नायकले समयमा पैसा नतिर्दा ब्याज तिर्ने पर्छ, कुनै ठुलो कुरा भएन भनेर बताए । प्रोपराईटर नायकले दुई सय बोरा सिमेन्टको हिसाब छुटेको ले त्यस्तो भएको प्रतिक्रिया दिए ।
