• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘धाँधलीबाट जित्ने ग्यारेन्टी नभएसम्म कुनै तानाशाहले चुनाव गराउँदैन’


‘धाँधलीबाट जित्ने ग्यारेन्टी नभएसम्म कुनै तानाशाहले चुनाव गराउँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनलाई जनता समाजवादी पार्टी (जसपा) ले संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार भन्दै आन्दोलनमा जाने निर्णय गर्‍यो । त्यसपछि जसपाका शीर्ष नेताहरूले देशका विभिन्न भागमा पुगेर संसद पुनर्स्थापनाको माग गरे ।

रोल्पादेखि संखुवासभासम्मको विरोध सभालार्ई सम्बोधन गरेर फर्केका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे काठमाडौंभन्दा मोफसल अझै स्पष्ट भएको बताउँछन् ।

संसद भंगबारे जनताको मनोविज्ञान कस्तो पाउनुभयो भन्ने प्रश्नमा उनको जवाफ छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम मात्रै नभएर संविधानलाई नै धरापमा पर्ने, गणतन्त्र, संघीयता, समावेशिता गुम्ने र देश प्रतिगमनतिर जानसक्ने खतरा छ भन्ने जनताको बुझाइ पाएँ ।’

प्रधानमन्त्री ओलीको कदम बाहिर देखिएभन्दा ‘गम्भीर’ रहेको पूर्वप्रधानमन्त्री डा. भट्टराईको विश्लेषण छ । व्यक्तिगत रूपमा उनले ओलीलाई केशरजंग रायमाझी प्रवृत्तिसँग तुलना गरे । उनी भन्छन्, ‘धार्मिक लगायतका कतिपय विषयमा त ओलीजीले जस्तो रायमाझीले पनि गरेका थिएनन् ।’

नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव पक्ष, जसपा, नागरिक समाज, बौद्धिक जमात र आमनागरिकले संयुक्त आन्दोलन गरेर ओलीको असंवैधानिक कदम सच्याउनुपर्ने उनको धारणा छ । प्रस्तुत छ, डा. भट्टराईसँगको अन्तर्वार्ताको सम्पादित अंशः

संसद विघटनपछि जनताको मनोविज्ञान कस्तो पाउनुभयो ?

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमबारे राजनीतिक दलहरूमध्ये सबैभन्दा पहिला हामीले प्रतिक्रिया दियौं र दुई दिनपछि कार्यकारी समितिको बैठक बसेर संघर्षका कार्यक्रमहरू घोषणा गर्‍यौं । पहिलो चरणमा म पोखरा र विराटनगर गएँ । दोस्रो चरणको आन्दोलन जिल्ला–जिल्लामा केन्द्रित गर्‍यौं ।

हाम्रो चाहना सबै दल मिलेर संयुक्त आन्दोलन गरौं भन्ने नै थियो । त्यसैले सुरूमै ठूलो प्रकृतिका कार्यक्रम नगरेका हौं । पार्टीमा पुस १४ गते नै नेपाल बन्द गरौं भन्ने प्रस्ताव आएको थियो । तर बन्दको कार्यक्रम जनताले सुरूमै रूचिकर मान्दैन । त्यसैले हामीले साना, मझौला र छरिएका कार्यक्रम ग¥यौं । कांग्रेस लगायत पार्टीहरूलाई पर्खौं भनेर पनि यसो गरिएको हो ।

दाङ, प्युठान, रोल्पा, अर्घाखाँची, चितवन, संखुवासभा, धनकुटा, धरानमा कार्यक्रम गरेर फर्कंदा मैले के पाएँ भने जनता धेरै प्रष्ट छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम गैरसंवैधानिक मात्रै नभएर संविधानलाई नै धरापमा पार्ने, गणतन्त्र संघीयता, धर्मनिरपेक्षता, समावेशिता गुम्ने र देश प्रतिगमनतिर जाने खतरा छ भन्ने जनताको बुझाइ पाएँ ।

कांग्रेसको नेतृत्व तहले अदालतको फैसला कुरौं, पर्खेर हेरौं भने पनि जिल्ला जाँदा कांग्रेसका कार्यकर्ताहरूमा पनि संयुक्त संघर्षमै जानुपर्छ भन्ने देखियो । नेकपा माधव–प्रचण्डका कार्यकर्ता त आन्दोलनको पक्षमा हुने नै भए ।

जनता यो प्रतिगमनको प्रतिरोध गर्नुपर्छ भन्ने मुडमा छन् । नागरिक समाज, बौद्धिक जमात, मिडिया लगायतको पनि बुझाइ स्पष्ट छ । राजनीतिक नेतृत्व, त्यसमा पनि कांग्रेसको मूल नेतृत्व अलमलमा पर्दा सबै रोकिएर बसेको जस्तो लाग्छ ।

यहाँले कांग्रेस र नेकपा प्रचण्ड–माधव पक्षका नेताहरूसँग भेटघाट गरेको समाचार आएका थिए । तपाईंहरूबीच के कुरा भए, संयुक्त आन्दोलनबारे कस्तो बुझाइ रह्यो ?

यो घटनाक्रम कसरी विकास भयो ? यसका राष्ट्रिय– अन्तर्राष्ट्रिय आयाम के छन् ? यसका भावी परिदृश्य के हुनसक्छन् ? भन्ने केलाएर हेर्दा मैले चित्र भयावह देखेको हुनाले तेस्रो जनआन्दोलनको रूपमा लिएर जानुपर्छ भन्ने निष्कर्षमा पुगेँ ।

नेकपा ठूलो शक्ति भए पनि उसको भन्दा कांग्रेसको लोकतान्त्रिक छवि छ । कांग्रेसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले पनि विश्वास गर्छ भनेर मैले सुरूमै सभापति शेरबहादुर देउवाजीसँग लामै छलफल गरें । जानेबुझेसम्मका जानकारीहरू आदानप्रदान गर्‍यौं । संयुक्त ढंगले आन्दोलन उठाउन कांग्रेसले नेतृत्व लिनुपर्छ भनेँ ।

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायत नेतासँग पनि कुराकानी गरेँ । रामचन्द्रजी र सिटौलाजीलाई आन्दोलनप्रति सकारात्मक नै पाएँ, शेरबहादुरजी भने पर्खौं भन्नेमा हुनुहुन्छ ।

मैले प्रचण्ड–माधव पक्षका नेताहरूलाई पनि कांग्रेसलाई साथमै लिएर आन्दोलन गरौं, तपाईंहरू शक्ति प्रदर्शन गर्ने होडबाजीमा त हुनुहुन्छ तर त्यतिले मात्रै पुग्दैन भनेको हुँ ।

केशरजंग रायमाझी प्रवृत्ति बोकेर महेन्द्रपथमा हिँडेका केपी ओलीसँग निर्णायक रूपमा सम्बन्धविच्छेद गर्नुभएन भने तपाईंहरूले कम्युनिस्ट नाम राख्नुको पनि अर्थ रहँदैन भनेको हुँ । उहाँहरूको सम्बन्ध राजनीतिक रूपमा टाढिएपनि कानुनी ढंगले स्पष्ट भएको छैन ।

प्रचण्ड–माधव पक्षका नेताहरूलाई मैले अहिले नेतृत्वको आकांक्षा नराख्न पनि भनेको छु । कांग्रेस, जसपा लगायत दलसँग मिलेर जाने लचकता देखाउनुस् भनेँ । पछि उहाँहरूले पनि कांग्रेससँग संयुक्त आन्दोलनमा जाने कुरा गर्नुभयो ।

नागरिक समाज, मिडिया लगायतका क्षेत्र यो प्रतिगमनको विषयमा स्पष्ट छ । तर कांग्रेस अस्पष्ट रहँदा र नेकपाको औपचारिक हैसियत प्रष्ट नभएसम्म संयुक्त आन्दोलनमा असर पर्ने देखिएको छ । संयुक्त आन्दोलन नगरेसम्म जनता सडकमा आउँदैनन् । जनता सडकमा नआएसम्म प्रतिगमन सच्चिँदैन ।

कांग्रेस आन्दोलनमा आउँछ जस्तो लाग्छ ?

आउँछ, आउनै पर्छ ।

संयुक्त आन्दोलन हुनेमा विश्वस्त हुनुहुन्छ ?

त्यो त गर्नैपर्छ । लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता पक्षधर शक्तिहरूले अगाडि बढ्ने आँट गर्नैपर्छ । संयुक्त आन्दोलन गरेर जनता सडकमा आउँदा छिटो सफल भइन्छ ।

हो, अहिलेको संविधान पूर्ण छैन । म आफैँ यसलाई ‘आधा गिलास’ भरिएको भन्दै हिँडेको छु । तर यो संविधान नबच्नु भनेको देश २०४७ सालमा फर्कनु हो । त्यो भनेको दश वर्षे जनयुद्ध, मधेश, जनजाति लगायतका आन्दोलनको उपलब्धि खेर जानु हो । त्यसकारण सबैले यो संविधानको रक्षा गरेर अगाडि बढ्ने कार्यनीति बनाउनैपर्छ ।

ओलीजीको ठाउँमा कांग्रेस वा प्रचण्ड–माधव समूह आए पनि पुरानै अनुहार आउने हो भनेको सुनिन्छ । २०६२/०६३ सालमा जस्तै नेताहरूप्रति अरूचि देखिन्छ । अर्कोतिर दलमा आबद्ध नभएको पुस्ता पनि आन्दोलनमा लागेको देखिन्छ । संसद पुनर्स्थापना भएर मात्रै पुग्दैनभन्दा सही हुन्छ ?

यो संविधानमा थप्नुपर्ने कुरा धेरै छन् । जस्तो– संघीय संरचनाले यो देशको जातीय–क्षेत्रीय विविधतालाई सम्बोधन गरेको छैन । पूर्ण समावेशी छैन । महिलाको दृष्टिकोणबाट नागरिकताका प्रावधान अपूरा छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ । न्यायालय लगायतका निकायको पुनर्संरचना हुनुपर्छ । नागरिक समाज र बौद्धिक जमातले यो प्रश्न उठाउँदा म खुसी छु ।

म के पनि भन्न चाहन्छु भने रणनीति त्यो नै हो । त्यहाँसम्म पुग्ने कार्यनीति चाहिन्छ । समाजको ठूलो तप्काले यस्तो अग्रगामी एजेण्डा एकैपटक ग्रहण गर्दैन । प्रतिगामी शक्तिले साधन, स्रोत र मिडिया प्रयोग गरेर समाजलाई पछाडि फर्काउन चाहन्छ । अहिले पनि त्यही गरिराखेको छ ।

अग्रगमनतिर जाने चेत अल्पमतमा हुन्छ । बहुमत यथास्थितिवादी सोचकै हुन्छ । ‘हो पनि, होइन पनि’ भन्ने ढुलमुल सोच बहुमतमा हुन्छ । त्यो पक्षलाई साथमा लिन पहिलाकै स्थानमा पुग्नुपर्छ ।

जस्तो– जंगलमा बाटो हराउँदा भौंतारिरहनुको सट्टा जहाँबाट बाटो बिराइयो, त्यहीँ फर्कनुपर्छ । अग्रगमनमा पुग्न पहिला अपुरो–अधुरो संविधानमै फर्कनुपर्छ । त्यसका लागि पहिला संसद पुनस्र्थापना र त्यसपछि संविधानमा अधिकतम संशोधन गर्नुपर्छ ।

त्यसका लागि दलहरू सच्चिन आवश्यक छ हैन ?

१२ बुँदे समझदारीको बेला हामी राजनीतिक दलहरू र शासन व्यवस्थाकै विरोधमा थियौं । संसदवादी दलहरू पनि सच्चिनुपर्छ भन्ने एउटा बुँदा राखेका थियौं । त्यो मैले नै मस्यौदा गरेको थिएँ । अहिले पनि त्यो कुरा स्वतः लागू हुन्छ ।

माधव–प्रचण्ड पक्षले श्वेतपत्र जारी गर्छौं भनेका छन् । त्यो जरूरी छ ? ओलीलाई अहिलेको स्थानमा पुर्‍याउनुमा त प्रचण्डकै भूमिका छ भनिन्छ नि ?

संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायतको विरोधी कित्ताका मान्छे हुन्, ओली । प्रचण्डजीलाई मैले यो कुरा सुरूमै भनेको थिएँ । चुनावी एकतासम्म गरेपनि पार्टी एकता नगर्नुस् भनेको थिएँ । त्यो बेलाको आवश्यकता अनुसार मैले पनि कांग्रेससँग चुनावी एकता गरेँ । मैले ओलीसँग पार्टी एकता गर्नु घातक हुन्छ भनेर पटक–पटकभन्दा प्रचण्डजी मान्नुभएन ।

एक पटक त यहाँ पनि एउटै मञ्चमा हुनुहुन्थ्यो नि ?

त्यो पार्टी एकताको होइन, चुनावी एकताको कुरा थियो । २०७४ को निर्वाचनपछि र २०७५ मा एकता हुनुअघि मैले त्यसो भनेको थिएँ तर प्रचण्डजी जानुभयो । आजको परिणामको निम्ति उहाँ जिम्मेवार हुनुहुन्छ तर म अहिले त्यो कोट्याउने पक्षमा छैन ।

मुख्यकुरा, प्रचण्ड–माधव समूहले ओली प्रवृत्तिसँग निर्णायक सम्बन्धविच्छेद गर्नुपर्छ । त्यो नगर्दासम्म उहाँहरूप्रति विश्वसनीयता रहँदैन । त्यसबाहेक, शासन व्यवस्था चलाउने क्रममा जेजति कमीकमजोरी भएका छन्, त्यसका निम्ति उहाँहरूले आत्मालोचना गर्नुपर्छ । मेरो हिस्साको आत्मालोचना गर्न म तयार छु ।

अदालतबाट संसद पुनर्स्थापना हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

सबैभन्दा सजिलो बाटो त्यही हो । अदालतले संसद पुनस्र्थापना गर्ने, सहमतिले सरकार बनाउने, सहमतिले संविधान संशोधन गर्ने र सहमतिले निर्वाचनको बाटो खोल्ने । यो नै सबैभन्दा कम क्षतिपूर्ण बाटो हो । त्यसो नभए २०६२/०६३ मा जस्तै जनआन्दोलनको बलमा पुनर्स्थापना हुन्छ ।

संसद पुनर्स्थापना नभए ४ असारसम्ममा चुनाव गरिसक्नुपर्ने हुन्छ । त्यसमा जसपाले भाग लिँदैन ?

ओलीजीले चुनाव गराउन संसद विघटन गरेकै होइनन् । संविधानको हत्या गर्ने, लोकतान्त्रिक प्रक्रियालाई ‘डिरेल’ गर्ने तानाशाहले आफूले धाँधली गरेर जित्ने ग्यारेन्टी नभएसम्म चुनाव गराउँदैन । ओलीले चुनाव नगराउँनेमा म ढुक्क छु ।

कथम् कदाचित ओलीले आफूले जित्नेगरी चुनाव गराइहालेछन् भने त्यो नेपालका निम्ति घातक हुन्छ । संविधानले नदिएको संसद विघटन गर्ने अधिकार प्रयोग गर्ने प्रधानमन्त्रीको कदमलाई स्वीकारेर गएपछि संघीयता, समावेशिता, धर्मनिरपेक्षता खारेज होला । अन्ततः संविधानै खारेज होला । त्यही भएर यसलाई वैधता दिनै हुँदैन ।

माओवादी, मधेसवादी लगायतका हिजोका आन्दोलनकारी र कांग्रेस–एमालेका अग्रगामी शक्तिले केपी ओलीले गराउने निर्वाचनमा जाने सोच्नै हुँदैन ।

ओलीजीले संसद भए पनि सरकार बन्ने ठाउँ थिएन भन्ने दाबी गरिरहेका छन् । संसद पुनर्स्थापना भए पनि दलहरूको जोडघटाउ नमिलेर सरकार बन्न नसकेर अस्थिरता हुन्छ, जसपा नै सरकारमा जान्छ कि जाँदैन ?

सरकार बन्ने अवस्था थियो या थिएन भनेर केपी ओली वा मैले होइन, प्रतिनिधि सभाले भन्ने हो । संविधानको धारा ७६ ले भनेको पनि त्यही हो ।

बहुमत प्राप्त पार्टीले सरकार चलाउन नसकेको वा त्यो पार्टी फुटेर दुईटा भएको अवस्था हो भने दोस्रो विकल्प अन्तर्गत सरकार बनाउने प्रयत्न गर्नुपर्थ्यो । त्यसरी पनि नबने सबैभन्दा ठूलो पार्टीले बनाउनुपर्थ्यो । त्यो पनि नभए कुनै एक सांसदले प्रयत्न गर्नुपर्थ्यो । त्यसपछि मात्र चुनावमा जानुपर्थ्यो । ओली यो प्रक्रियामा गएनन्, त्यसकारण उनको कदम असंवैधानिक नै हो ।

संसद पुनर्स्थापना भएपछि पनि सरकार बनेन भने के हुन्छ भन्नुभयो । त्यो अवस्था गुणात्मक रूपले फरक हुन्छ । जे भए पनि संविधान त बच्यो नि । संविधान बचाएर चुनावमा जान सकियो नि । धारा ७६ को २ अनुसार सरकार बन्ने अवस्था त अहिले पनि छ ।

त्यो अवस्थामा त कांग्रेस र ओली समूह मिलेर पनि सरकार बनाउन सक्ने भयो नि ?

बनाउन सक्छन् । सरकार, मान्छे खराब हुन सक्छन् तर संविधान त बच्छ नि ।

बहुमत पुर्‍यायो भने जसले बनाए पनि भयो ?

बहुमत पुग्यो भने लोकतन्त्र त मान्न पर्‍यो । तर मेरो विचारमा केपी ओलीलाई फेरि सरकारको नेतृत्व गर्ने नैतिक अधिकार हुँदैन । कांग्रेस–ओली गठबन्धन पनि बन्दैन । तैपनि संविधानअन्तर्गत् बन्छ भने लोकतन्त्रमा त विश्वास गर्नैपर्ने हुन्छ ।

केपी ओलीले किन यो कदम चाले भन्ने विषयमा विभिन्न धारणा आइरहेका छन्– व्यक्तिगत स्वाभाव, प्रचण्ड–माधवलाई देखाउन, आदि इत्यादि । यहाँलाई चाहिँ के लाग्छ ?

यो अधुरो क्रान्तिको पीडा हो । २००७ सालकै क्रान्ति पूरा भएन । हामीले माओवादी जनयुद्ध र मधेश आन्दोलनलाई सापेक्षतामा पूर्णता दिने प्रयास गर्‍यौं । तर पहिलो संविधान सभाबाट संविधान बनाउन नसकेपछि दोस्रोमा यथस्थितिवादी शक्ति हाबी हुन पुग्यो । त्यसरी बनेको संविधानले नेपाली जनता र समाजका आवश्यकता पूरा गर्न सकेन । क्रान्ति अपूर्ण नै रह्यो ।

क्रान्तिपछि क्रान्तिकारी र परिवर्तनकारी शक्ति सत्तामा भए पो क्रान्ति संस्थागत हुन्छ । क्रान्तिपछि १५–२० वर्ष क्रान्तिकारीहरूले शासन गरेर त्यसअनुसार संस्थाहरू बनाउँछन्, जसले गर्दा लोकतन्त्र र समाजवाद अगाडि बढ्छ ।

हामी कहाँ ठीक उल्टो भयो । जनयुद्ध, जनआन्दोलन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता विरोधी केपी शर्मा ओली सत्तामा पुगे । मेरो बुझाइमा त केपी ओली सत्तामा हुनु भनेकै ढिलो वा छिटो प्रतिगमनको सुरूवात थियो ।

यिनको स्वभावजन्य कारण पनि छन् । टपर्टुय्याँ तर चरम महत्वकांक्षी मान्छे । गहिरो बुझाइ नभएको अस्थिर र स्वेच्छाचारिता यिनको चरित्र हो । सबैभन्दा जान्ने, सुन्ने र ठूलो मान्छे मै हुँ, सबैलाई देखाइदिन्छु भन्ने दम्भ पनि यसको कारण हो ।

अर्को कारण नेपालको भूराजनीतिक जटिलता हो । चीन सन् २०२८ सम्ममा विश्वको पहिलो आर्थिक शक्ति बन्दैछ । भारत २०३५ सम्म तेस्रो आर्थिक शक्ति बन्छ भन्ने प्रक्षेपण छ । अमेरिका दोस्रो शक्तिको रूपमा रहिरहन्छ । यस्तो अवस्थामा यो क्षेत्रमा अमेरिका–चीन द्वन्द्व पर्छ । भारतको चासो स्वतः बढ्छ । हिन्दुकुशदेखि बर्मासम्मको क्षेत्र सामरिक दृष्टिले पनि तनावपूर्ण बन्छ ।

यस्तो बेला नेपालको सन्की शासकबारे बाहिरी शक्ति बेखबर छैनन् । उनीहरूले पनि आफ्नो हितमा ‘मेनुपुलेट’ गरेनन् होला भन्न सकिँदैन ।

आन्दोलनको विषयमा जसपामा पनि दुईधार देखियो । केही नेता ओली समूहमा जाँदैछन् भन्ने पनि सुनिन्छ । पार्टीमा अन्तरविरोध किन ?

प्रतिनिधि सभा विघटन लगत्तै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर एक मतले आन्दोलनमा जाने निर्णय गर्‍यौं । यो प्रतिगमन हो, आन्दोलन गर्नुपर्छ भन्ने पार्टीको आधिकारिक नीति हो । फेरि बैठक बसेर आगामी आन्दोलन तय गर्छौं । यो विषयमा पार्टीमा मतभिन्नता छैन ।

जहाँसम्म ओली समूहमा जाने कुरा गर्नुभयो, राजनीतिक ध्रूवीकरणका क्रममा एकाध मान्छे यताउति जाने भइरहन्छ । मूल रूपमा पार्टी पङ्क्ति एक ढिक्का रहन्छ । यसमा विभाजन हुँदैन ।

गत वैशाखमा अध्यादेश ल्याएपछि यहाँको पार्टी फुट्न लागेको थियो नि ?

एकाध मान्छे जहिले पनि, जता पनि जान सक्छन् । हिजोका माओवादीहरू पनि केही त गएकै छन् । ओलीकै मान्छे पनि छाडेर हिँडेका छन् । जसपा फुटेर वा चोइटिएर जाने सम्भावना छैन ।

ओली, कांग्रेस, माधव–प्रचण्डका मान्छे तपाईंहरूकोमा आएका छन् ?

छन्, राजनीतिक अस्थिरताको बेलामा यो स्वाभाविक पनि हो । हाम्रो पार्टी त सम्पूर्ण आन्दोलनकारी शक्तिको संश्लेषण पनि हो । कांग्रेस र कम्युनिस्ट पुँजीवाद र राज्यकेन्द्रित साम्यवाद केन्द्रित शक्ति हुन् ।

त्यसको विकल्पमा व्यक्तिको निजी स्वतन्त्रता र राज्यको पनि उचित भूमिका सहितको समुन्नत समाजवादलाई विचारको आधार मान्ने तेस्रो वैकल्पिक शक्ति आवश्यक छ भनेर जसपाको परिकल्पना गरेका हौं । सबै समूहका अग्रगामी शक्तिलाई हामी स्वागत गर्छाैं ।

हिजो यहाँसँगै भएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापाहरू त ओली समूहमै छन् । साथीहरूले छाड्दा कस्तो लाग्दो रहेछ ?

कुनै साथीको बारेमा व्यक्तिगत टीकाटिप्पणी गर्न चाहन्न । कतिपय मान्छे बुझाइको स्पष्टताको अभाव भयो भने राम्रो नियत हुँदाहुँदै पनि बाटो बिराउँछ । कतिपय मान्छे उमेर, परिस्थिति, आर्थिक–सामाजिक बाध्यताले पनि थाक्ने र बिचारको भारी बिसाउनेतिर लाग्छ । कोही वैचारिक रूपमा स्खलित भएर गएको पनि हुन सक्छ । म कसैप्रति टिप्पणी गर्न चाहन्न तर दुःखित छु ।

यहाँले ओलीजीलाई केशरजंग रायमाझीसँग तुलना गर्नुभयो । नयाँ रायमाझी प्रवृत्ति भन्ने हो ?

धार्मिक लगायत कतिपय विषयमा ओलीजीले जति रायमाझीले गरेका थिएनन् । ओलीले एकल जातीय, नश्लीय राष्ट्रवादको पक्षपोषण गर्नुभयो । महेन्द्र राष्ट्रवाद भनौं, वर्गीय, जातीय, लैंगिक प्रश्नभन्दा पनि जातीय अहंकारवाद अथवा खास समुदायमा मात्रै आधारित भएर राष्ट्रियताको परिभाषा गर्नुभयो ।

अन्धराष्ट्रवादलाई उछालेर सत्तामा पुग्ने जुन प्रयास गर्नुभयो त्यो त एक प्रकारको महेन्द्रीय राष्ट्रवादकै पुनरावृत्ति हो । रायमाझी जसरी नेकपाको महासचिव भएर पनि महेन्द्रपथमा गएका थिए ओली पनि घुमीफिरी महेन्द्र पथमा पुग्नु बडो विडम्बना हो । कम्युनिस्टको भाषामा भन्दा केपी ओली नयाँ रायमाझी पथमा पुग्नुभयो ।

पुस २३ गते त उहाँले यही संविधानप्रति प्रतिबद्धता जनाउनुभयो नि ?

त्यो अनुकूलता हेरेर गर्नुभएको हो । ओलीजी धेरै अगाडि बढिसक्नुभएको छ । शृङ्खला हेर्नुभयो भने उहाँका सम्पूर्ण गतिविधि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता विपरीत दिशामै केन्द्रित देख्नुहुन्छ । उहाँले जम्मा गर्नुभएको आसेपासेलाई हेर्दा पनि त्यही देखिन्छ ।

स्थिति अनुकूल नभइसकेको हुनाले उहाँले भाषा मत्थर पार्नु भएको मात्रै हो । उहाँ यो परिवर्तनको एजेन्डाको विरोधी नै हो । उहाँ पुग्ने भनेको प्रतिगमनमै हो ।

यहाँले संयुक्त आन्दोलन आवश्यक छ भन्नुभयो । कहिलेसम्म सुरू होला त ?

कांग्रेस, जसपा, नेकपा प्रचण्ड–माधव पक्ष, अन्य साना राजनीतिक दल, नागरिक समाज, बौद्धिक जमात र आमनागरिक संयुक्त भएर तेस्रो जनआन्दोलनको लहर ल्याउनु पर्छ । संयुक्त आन्दोलनले मात्र संविधान बचाउँछ, प्रतिगमन सच्याउँछ । संयुक्त आन्दोलन हुन सकेन भने देश गम्भीर दुर्घटनामा पर्छ । त्यसकारण जसपा र व्यक्तिगत रूपमा म अहोरात्र खटिन तयार छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपाले संसद विघटनको विरोधमा फागुन ९ गते काठमाडौंमा प्रदर्शन गर्ने
  • २०७७ माघ २७, मंगलवार १८:३५
  • In "देश"
  • रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन
  • २०७७ माघ २७, मंगलवार १८:३५
  • In "देश"
  • जसपाले प्रहरीकै अगाडी जलायो प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला
  • २०७७ माघ २७, मंगलवार १८:३५
  • In "कोशी प्रदेश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

एसईई अब विद्यालयले लिन नपाउने

बुधबार हुने नेकपाकाे आमसभाको तयारी पूरा, कहाँ–कहाँबाट निस्कदै छन् जुलुस ?

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version