सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका-१ सितलपुर टोल नजिकै पर्ने नेपाल-भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मंगलबार दिउँसो करिब ३ बजेर १० मिनेटको समयमा इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा बाटोको छेउमा ती पुरुषको शव फेला पारेको हो। मृत फेला परेका पुरुषको उमेर अन्दाजी ४५ देखि ५० वर्षको बीचमा रहेको अनुमान गरिए पनि उनको वास्तविक नाम, थर र ठेगाना भने अझै खुल्न सकेको छैन।
शव फेला परेलगतै प्रहरीले घटनास्थललाई सुरक्षित राखेर थप कानुनी प्रक्रिया अगाडि बढाएको थियो। घटनाको विस्तृत र सुक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईको कमाण्डमा विशेष टोलीसहित थप प्रहरी जनशक्ति घटनास्थलमा परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेपछि मंगलबार साँझ ५ बजेर ५० मिनेटमा शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
प्रहरीले मृतकको शरीर खानतलासी गर्ने क्रममा उनको हातमा लगाइएको एउटा बालामा ‘जगन राउत’ लेखिएको फेला पारेको छ। यसका साथै उनको कपडाको खल्तीबाट भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको एउटा सिक्का समेत बरामद भएको छ।
मृतकको खल्तीमा भारतीय रुपैयाँ भेटिएकाले उनी भारतीय नागरिक हुनसक्ने अनुमान गरिए पनि प्रहरीले उनको पहिचान खुलाउन र घटनाको वास्तविक कारण पत्ता लगाउन चौतर्फी रूपमा थप अनुसन्धान अगाडि बढाइरहेको छ।
