जनकपुर । मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ ।
खासगरी कोजाग्रत पूर्णिमा आज मिथिलावासीका लागि विशेष मानिन्छ । यो अवसरमा महोत्तरीको रतौली गाउँबाट पुस्तौ पुस्तादेखि एक परिवारले जानकी मन्दिरमा भार (कोसेली) पठाउँदै आएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरले सयौं वर्ष अगाडि कोजाग्रत पूर्णिमा मनाउन भार पठाउने परम्परा सुरु गरेका थिए ।
भार पठाउने परम्परालाई कायम राख्दै ठाकुरकै परिवारका तीन घरबाट यस वर्ष पनि भार पठाइएको जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिए । उनका अनुसार स्व. ठाकुरको घरबाट दही च्यूरा, फलफूल र विभिन्न खालका मिठाई, पान र मखान सहितका परिकार तथा लत्ता कपडा कोसेलीको रूपमा आएको छ ।
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने मिथिलामा चलन छ । सोही चलन अनुसार स्व.ठाकुरले माता सीतालाई छोरी मानेर जानकी मन्दिरमा आजको दिन कोसेली पठाउन सुरु गरेका थिए ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज माता जानकीको विशेष पूजाअर्चना गर्ने तयारी छ । रतौलीबाट आएको कोसेली प्रसादको रूपमा चढाइन्छ । माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर निकालेर नाचगान र पूजा गर्ने परम्परा रहेको छ ।
त्रेता युगमा भगवान् श्रीकृष्णले यसै दिन रासलीला गरेको र यो दिनमा चन्द्रमा चकोरमा अमृत वर्षा हुने मान्यता पनि छ । त्यसैले मिथिलावासीहरू आजकै राति मखानलगायतका बस्तुबाट खीर बनाएर आफ्नो छतमा राखी बिहानपल्ट प्रसादको रूपमा खाने गर्छन् ।