गोरखा, । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ अर्थात् उच्च जोखिम रहेको जनाएको हो ।
महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने मुगु र हुम्ला मात्र न्यून जोखिममा छन् । आउँदो आइतबारसम्म नै देशभर हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि मोबाइलमा ११५५ बाट कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध पनि गरेको छ । यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरिएको छ ।
कृषि अनुसन्धान परिषद् नार्कका प्राविधिक अधिकृत रामेश्वर रिमालले धान काट्ने र भित्राउने समय भएकाले वर्षाबाट हुनसक्ने क्षति प्रति किसान सजग हुनुपर्ने बताउनुभयो । उहाँले हावाहुरीका कारण तराईमा पाक्न लागेको धान ढल्ने भएकाले अहिले नै टेको लगाएर अड्याउन सुझाव दिनुभयो । यसैगरी काटेर खेतमै छोडेको भएको तत्काल पानी नपर्ने ठाउँमा थन्क्याउन पनि अनुरोध गर्नुभयो ।