काठमाडौं । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली रक्षा बल र गुप्तचर एजेन्सीहरूले लेबनान र इरानमा भइरहेका घटनाहरूलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।
इजरायली रक्षा मन्त्रीका अनुसार इजरायली रक्षा बल र गुप्तचर एजेन्सीहरू कुनै पनि खतराबाट बच्न दिनरात २४ घण्टा काम गरिरहेका छन्। साथै, सेनाले आक्रमणका विभिन्न विकल्प तयार राखेको छ ।
उनले भने – ‘हाम्रा सेनाहरूलाई धन्यवाद किनभने उनीहरूले हाम्रा नागरिकहरूको लागि रातहरू सुरक्षित गरिरहेका छन्। जसका कारण इजरायलका नागरिकहरु सामान्य जीवन बिताउन सक्षम भएका छन् । तयार हुनुहोस् र आफ्नो कमाण्डरको निर्देशन पालना गर्नुहोस्।
गत महिना हमासका शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा भएको आक्रमणमा मारिएका थिए ।
इरानले उक्त हमलामा इजरायलको संलग्नता रहेको बताएको छ । यद्यपी इजरायलले यस विषयमा कुनै औपचारिक टिप्पणी गरेको छैन । तर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हानियाको मृत्युको बदला लिनु इरानको सर्वोच्च कर्तव्य भएको बताएका थिए।
त्यसयता इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने आशंका छ ।