नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपालको जाजरकोट र पश्चिम रुकममा शुक्रवार राति गएको भुकम्पमा परेर भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै भारत सरकारबाट हुने आवश्यक सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार समाजिक सञ्जाल एक्स ट्विटर मार्फत नेपालमा गएको भुकम्पबाट भएको जनधनको क्षति प्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले लेखेका छन् ।
यस्तै भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । शुक्रबार मध्यराति ११ः४७ बजे जाजरकोट रामी डाडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बिहान सवा ९ बजेसम्म १३२ जनाले ज्यान गुमाएका छन् । यस्तै दुई सयको हाराहारीमा घाइते समेत भएका छन् ।
उद्धारको लागि तीन वटै सुरक्षा निकायको टोली घटनास्थलमा पुगेका छन् ।
यसैविच नेपालका लागि अमेरिकी राजदूतले पनि भुकम्पबाट भएको जनधन क्षति प्रति दुख व्यक्त गर्दै अमेरिकी सरकार हर सम्भव सहयोग गर्न तयार रहेको बताइएका छन् ।