-सन्तोष बराइली
भ्रष्टाचार आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बित कर्मचारीहरु दिनहुँ सिंहदरबार धाउन थालेका छन् । सिरहाका विभिन्न स्थानीय तहका एक दर्जन कर्मचारी सिंहदरबारस्थित संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा हुल बाँधेर छिरेको बताइन्छ ।
निलम्बनमा पर्नुअघि विष्णुपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतोको नेतृत्वमा उनीहरू आज मन्त्रालय पुगेका हुन् । मन्त्रालयका विभिन्न शाखामा छिरेर आफूहरू निर्दाेष रहेको जनाउँदै रोइलो गरेको मन्त्रालय स्रोतले बतायो ।
लक्ष्मीपुर पतारी गाउँपालिमा छँदा भ्रष्टाचारको उजुरी परेपछि अख्तियारले भ्रष्टचार ठहर गर्दै बैशाख ७ गते उक्त गाउँपालिकाका प्रमुख रामबल्लभ साह, उपप्रमुख आशादेवी यादव, वडाध्यक्ष हनुमान मण्डल, तत्कालीन प्रशासकीय अधिकृतहरु रविन्द्रकुमार महत, धनिकलाल यादव र सुजित यादवसहित २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आयोगले उक्त गाउँपालिकामा कार्यरत तत्कालीन कर्मचारीहरूमध्ये वडा नम्बर ४ का सचिव रामनारायण मण्डल, ३ का तत्कालीन लेखापाल नरेश कामैत, इञ्जिनियर अमन पोखरेल, योजना शाखा प्रमुख चन्देश्वरप्रसाद यादव, ४ का तत्कालीन वडा सचिव रामनारायण मण्डल लगायतविरूद्व पनि मुद्दा दर्ता गरेको छ ।
भेटघाटको निम्ति समान्य प्रशासन मन्त्रालय पुगेको बताउँदै निलम्बित प्रमुख प्रशासकीय अधिकृत रिविन्द्रकुमार महतले भने, ‘कानुनअनुसार निलम्बन त हुने नै भइयो । यस्तो हामी एक दर्जन छौँ । भोलि सिरहा फर्कन्छौँ ।’