गार्डियनले सन् २०२१ मा प्रकाशित गरेको खोजमूलक रिपोर्टमा भने नेपालसहित ५ मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकको मृत्यु भएको दाबी गरिएको छ ।
काठमाडौँ — यतिबेला कतारमा विश्वकप फुटबल-२०२२ आयोजना भइरहेको छ । समूह चरणको अन्तिम खेल सुरु भइसकेका छन् विश्वकपको रौनक हेर्नका लागि संसारभरबाट दर्शक कतार पुगेका छन् ।
तर यसैबीच विश्वकप आयोजनाका लागि पूर्वाधार निर्माणमा श्रमिकको शोषण गरेको र तयारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै कतारी सरकारको कडा आलोचना पनि हुँदै आएको छ ।
कतारमा विश्वकप फुटबलका लागि पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका र ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब दिइरहेका छन् । यसैबीच विश्वकप आयोजनासम्बन्धी उच्च समितिका महासचिव हसन अल थवादीले पूर्वाधार निर्माण वा आयोजना तयारीका क्रममा ४ सयदेखि ५ सय श्रमिकको मृत्यु भएको स्वीकार गरेका छन् ।