काठमाडौं । सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन जितिसकेको नेपाली कांग्रेसको उच्चस्तरीय रिपोर्टले देखाएको छ ।
महामन्त्री गगनकुमार थापाको टिमले तयार पारेको रिपोर्टले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले बहुमत जित हासिल गर्ने उल्लेख छ । गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले रिपोर्टको सारांश उल्लेख गर्दै भने, ‘अब संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको छ । स्थानीय तहमा पनि दुई सरकार गठबन्धन दलहरुकै छ । अब काम गरेर देखाउने चुनौती आएको छ ।‘ उक्त रिपोर्टमा गठबन्धन सहयात्री दललाई पाएको मतप्रति धोका नदिन सचेत गराइएको छ ।
खासगरी माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति संकेत गर्दै जनताको मत लिएर विगतको गल्ती नदोहोर्याउन चेतावनी दिइएको छ । महामन्त्री थापाले पाँच दलीय गठबन्धन बनाएर चुनावमा गइसकेपछि कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन नहुने बताए ।
गठबन्धन दलहरु कम्तिमा ५ वर्ष एक ठाउँमा उभिनै पर्ने भन्दै थापाले थपे, ‘हामी एक ठाउँमा आउने स्थिति कसले बनायो जनतालाई बुझाउनुपर्छ । निर्वाचनअघि सँगै उभिएपछि ५ वर्षलाई मत मागेपछि ५ वर्ष मत हाल्ने मतदातालाई धोका दिन पाइँदैन ।
कसैको सनक, व्यक्तिगत आग्रह, महत्त्वाकांङ्क्षा पूरा भएन भनेर गठबन्धनभित्रका दलहरूलाई दायाँ बायाँ फर्किने हक छैन ।’ रिपोर्टमा इमान्दारिताका साथ गठबन्धनलाई मत दिन नेता कार्यकर्ता र शुभेच्छुकलाई आह्वानसमेत गरिएको छ ।