जनकपुरधाम । मधेश प्रदेशमा करिब ७० प्रतिशत मतदान भएकाे छ ।
मधेश प्रदेशका जिल्लाहरुमा अनुमानित ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन आयाेगकाे कार्यालयले जनाएकाे छ । त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६ र रौतहत र सिरहामा ६५/६५ प्रतिशत मतदान भएको बताइएकाे छ ।
मधेश प्रदेशको कयौँ मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगित समेत गर्नु परेको छ । ८ मतदान केन्द्रकाे मतदान प्रक्रिया स्थगित भएकाे हो ।
बारामा ४ वटा मतदान स्थलमा विवादका कारण मतदान स्थगित गर्नु परेको मतदान अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए ।
पचरौता नगरपालिका वडा नम्बर २ र ४ को चारवटा मतदान केन्द्रको बुथ कब्जा गरेपछि मतदान रद्द गरी स्थगित गरिएकाे छ । पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले केही उच्चश्रृंखल व्यक्तिहरूले बुथ कब्जा गरेपछि वडा नम्बर २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको जानकारी दिए ।
त्यस्तै वडा नम्बर ४ को बेलदारी प्रावि मतदान केन्द्रको क र ख को मतदान पनि रद्द भएको उनले बताए ।
त्यस्तै रौतहटको ३ वटा मतदान स्थलमा मतदान स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले जानकारी दिए । उनका अनुसार रौतहटको बौधीमाई नगरपालिका वडा २ स्थित इनरवारी प्रा.वि. मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्रा.वि मतदान केन्द्रको मतदान स्थगित भएकाे हाे ।
त्यस्तै सप्तरीको एक मतदान स्थलको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए । उनले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को एक मतदान स्थलमा मतदान स्थगित गरिएको बताए ।














