• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि


रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि

काठमाडौं । रुस र युक्रेनबीचको तनावलाई बहाना बनाउँदै व्यापारीहरुले सबै प्रकारका खाद्यान्नमा उच्च मूल्य वृद्धि गरेका छन् ।

महँगीले उपभोक्ता मारमा परिरहेको बेला प्रधानमन्त्रीले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने बजारमा हस्तक्षेप बढाउन सकेको छैन ।

आयातित कच्चा पदार्थको मूल्य महँगिएको भन्दै दुई साताअघि मात्रै उद्योगीले खाने तेलको मूल्य बढाएका थिए । नेपाल वनस्पती घिउ तेल उत्पादक संघकाअनुसार कच्चा पदार्थ महँगो हुँदा सबै प्रकारका तेलमा प्रतिलिटर १५ रुपैयाँसम्म मूल्य बढाइएको छ ।

खाने तेलमा भएको मूल्य वृद्धिको एकसाता नबित्दै बजारमा दूध र दूधबाट बनेका सबै प्रकारका परिकारको मूल्य बढ्यो । दूधको मूल्य लिटरमा ९ देखि २० रुपैयाँसम्म वृद्धि हुँदा पनिर, घिउ, दही जस्ता दुग्ध पदार्थको कम्तीमा १० देखि बढीमा १०० रुपैयाँसम्मले बढेको नेपाल डेरी उद्योग संघले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा नेपाल खुद्रा व्यापार संघले पठाएको विवरणअनुसार चालु आवको ६ महिनाको अवधिमा धेरै प्रकारका खाद्य वस्तुको मूल्य थोकमै वृद्धि भएको छ । थोकदेखि खुद्रासम्मै दलहन, गेडागुडी, चिनी, मैदा, आँटा जस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा कोरोना महामारीका कारण क्रयशक्ति गुमाएका सर्वसाधारणको भान्सा थप महँगो बन्न पुगेको छ ।

उपभोक्ता अधिकारकर्मीहरुकाअनुसार बजार हस्तक्षेप गर्न केन्द्रीय सरकारका निकाय, प्रदेश र स्थानीय तह जिम्मेवार नबन्दा निर्माण सामग्रीदेखि सबै खाले वस्तुको मूल्य बढीरहेको छ ।

‘रुस-युक्रेन तनावको असर अझै बढ्न सक्छ’

रसिया र युक्रेनबीचको आपसी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको तेल उद्योगीहरु तर्क गर्छन् । तेलको कच्चा पदार्थ आयात हुने ब्राजिलमा मौसम प्रतिकूल हुनुले पनि तेलको मूल्य बढीरहेको उनीहरुको भनाइ छ ।

नेपाल वनस्पति घिउ तेल उत्पादक संघका निवर्तमान अध्यक्ष विकास दुगड रुस-युक्रेन तनावको असर बजारमा अझै बढ्न सक्ने संकेत गर्छन् । ‘तोरी, भटमास, सनफ्लावर सबै प्रकारका तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढेको छ । नेपाली बजारमा त्यसैको प्रभाव देखिएको हो,’ दुगडले भने, ‘लिटरमा १० देखि १५ रुपैयाँ सबै प्रकारका तेलको मूल्य खुद्रामै बढेको छ ।’

डेरी उद्योग संघले भने उत्पादन लागत बढेका कारण दूधको मूल्य बढाउनु अनिवार्य भएको दाबी गरेको छ । दाना, चोकर लगायतको दूग्ध उत्पादनमा सहयोगी कच्चा पदार्थको मूल्य बढेका कारण किसान पेशाबाट पलायन हुने अवस्था बनेको संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । ‘किसान बचाउन पनि मूल्य बढाउनु पर्ने थियो, लागत बढेपछि मूल्य बढ्नु स्वाभाविक हो,’ दाहालले भने । बढेको दूधको मूल्यमा पनि किसान र उद्योगीलाई नाफा नभएको उनको दाहालले बताए ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र ढुवानीमा लागत बढ्दा खाद्यान्नको मूल्य बढेको होलसेल खाद्यान्न व्यापारीहरुको दाबी छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर बजारमा देखिएको होलसेल खाद्यान्न व्यवसायीहरुको छाता संस्था नेपाल किराना व्यवसायी संघको दाबी छ । खाद्यान्नको मूल्यमा केही वृद्धि देखिए पनि यो अघिल्ला वर्षहरुभन्दा भने कम नै रहेको संघको दाबी छ ।

कुन खाद्य वस्तुको मूल्य कति बढ्यो ?

माघ लागेसँगै भटमास, सूर्यमुखी र तोरीको तेलको मूल्य लिटरमा १० देखि १५ रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धि पछि भटमासको तेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य २४० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य लिटरमा २६० र तोरीको तेलको मूल्य ३४२ रुपैयाँ पुगेको खुद्रा व्यापार संघका सदस्य कविन्द्र श्रेष्ठले बताए ।

यस्तै, चिनीको मूल्य किलोमा ७ रुपैयाँले थोकमै बढेको छ । यसअघि ८७ रुपैयाँ किलोमा पाइने चिनीको थोक मूल्य अहिले कम्तिमा ९४ रुपैयाँ पुगेको छ ।

५० किलोको मैदाको मूल्य बोरामा २ सय रुपैयाँले बढेर २४ सय ५० रुपैयाँ पुगेेको छ भने आँटाको मूल्य पनि ५० किलोको प्रतिबोरा दुई सय रुपैयाँले बढेर २३ सय रुपैयाँ पुगेको छ । चना प्रतिकिलो पाँच रुपैयाँले बढेर प्रतिकिलो ९५ रुपैयाँ पुग्दा मुसुरको दाल पनि पाँच रुपैयाँले नै बढेर १३५ रुपैयाँ थोक मूल्य कायम भएको खुद्रा व्यापार संघले जनाएको छ ।

सर्वसाधरणले अधिक प्रयोग गर्ने साधारण स्ट्याण्डर्ड दूधको मूल्य यसै सातादेखि लिटरमा १० रुपैयाँले बढेको छ । चिया दूध लिटरमा १० रुपैयाँ, गाईको दूध लिटरमा १२ रुपैयाँ र फूलक्रिम दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढेको छ । यस्तै निजी क्षेत्रका डेरी उद्योगहरुले बिक्री गर्ने खुल्ला प्याकेटको दूधको मूल्य लिटरमा २० रुपैयाँसम्मले बढेको छ । प्रतिलिटर ९५ रुपैयाँमा बजारमा बिक्री हुने यस्तो दूधको उपभोक्ता मूल्य अहिले ११५ रुपैयाँसम्म पुगेको छ ।

सरकार समर्थित मूल्य वृद्धि : उपभोक्ता अधिकारकर्मी

बजारमा भइरहेको मूल्य वृद्धि सरकारी संरक्षण र समर्थनमा भएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।

चिनी, दूध, पेट्रोलियम पदार्थ जस्ता वस्तुको मूल्य सरकारले नै वृद्धि गरेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउँछन् । डण्डी किलोमै चार रुपैयाँ र सिमेन्ट बोरोमा एक सय रुपैयाँसम्मले मूल्य बढेको उनले बताए । ‘सिमेन्ट, डण्डी, तरकारी लगायतका कुनै पनि वस्तुको मूल्य स्थिर र नियन्त्रणमा छैन,’ महर्जनले भने ।

खाने तलेको मूल्य पनि उस्तै बढेको, दैनिक आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रण गर्न सरकार चुकेको उनको आरोप छ ।

खाने तेल, पेट्रोलियम पदार्थ, खाद्यान्न, चिनी लगायतमा भएको मूल्य वृद्धि रोक्ने निकाय लामो समयदेखि नेतृत्वविहीन हुनु दुःखद् भएको अर्का अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘यत्रो समयदेखि मन्त्रालय मन्त्रीविहीन छ, स्थानीय तहको सरकार र प्रशासन पनि महँगी नियन्त्रण गर्न मौन छन्,’ तिमिल्सिनाले भने ।

देशैभर महँगी, तराईमा उच्च : राष्ट्र बैंक

खाद्यान्न, पेय पदार्थ तथा गैरखाद्यान्न तथा सेवामा चालु आवको ६ महिनाको मूल्य वृद्धि मंसिर महिनाको तुलनामा केही घटे पनि गत वर्षकोभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंसिरमा समग्र मुद्रास्फीति ७.११ प्रतिशत रहेकोमा पुस समान्तसम्म ५.६५ प्रतिशतमा झरेको छ । तर, पुस मसान्तको यो तथ्यांक गत वर्षको सोही अवधिको तुलनामा झण्डै दुई प्रतिशतले बढी हो । गत वर्ष समग्र मुद्रास्फीति ३.५६ प्रतिशत रहेकामा चालु आवको पुस मसान्तमा यस्तोदर ५.६५ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

चालु आवको ६ महिनाको अवधिमा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा गत वर्ष २०७७ यी क्षेत्रहरुमा मुद्रास्फीति क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत थियो ।

महँगी रोक्ने निकाय नै अस्तव्यस्त

बढ्दो बजार मूल्यमा हस्तक्षेप गर्ने सरकारी निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अहिले स्वयं प्रधानमन्त्रीले सम्हालीरहेका छन् । तर, प्रधानमन्त्रीको प्राथमिकतामा मन्त्रालय नपर्दा बजार अनुगमन र मूल्यमा हस्तक्षेप गर्ने मातहतका सबै निकाय निष्क्रिय जस्तै देखिएका छन् ।

दशैं जस्तो ठूलो चाडमै बजार अनुगमन गर्ने निकाय वाणिज्य विभाग नेतृत्वविहीन बनाएर राखेका प्रधानमन्त्रीले अहिले पनि महँग्ाी उचाइमा पुगेका बेला केहीदिन अघि मात्रै वाणिज्य सचिवको सरुवा गरे ।

मूल्य वृद्धिको अनुगमन गर्ने वाणिज्य विभागले अनुगमनका लागि मातहतबाट स्पष्ट म्याण्डेड र जनशक्ति नै उपलब्ध नभएको गुनासो गरेको छ । ‘पाँच लाख हाराहारी व्यवसाय रहेको उपत्यकामा बजार अनुगमन गर्न मुस्किलले दैनिक एकदेखि दुई टोलीबाट अनुगमन भइरहेको छ,’ यस्तो अनुगमनले कसरी मूल्यमा हस्तक्षेप हुन्छ ?’ विभागका एक अधिकारीले भने ।

बजार मूल्य विश्लेषण र अनुगमनबारे विभागीय मन्त्रीको नाताले प्रधानमन्त्रीले कहिल्यै प्राथमिकता नदिएको मन्त्रालयका उच्च अधिकारी स्वयं बताउँछन् । ‘बजार मूल्यमा हस्तक्षेप, आपूर्ति व्यवस्था र अनुगमनको महत्वपूर्ण जिम्मेवारी पाएको मन्त्रालय मन्त्रीविहीन छ, यस्तो निकाय सरकारको प्राथमिकतामा नपरेपछि बजारमा मनपरी हुनु स्वाभाविक हो,’ ती अधिकारीले भने । चिनी, खाद्यान्न र पेट्रोलियमको मूल्य वृद्धिलाई नियन्त्रणमा लिन मन्त्रालयले गर्न सक्ने धेरै काम हुँदाहुँदै पनि निष्त्रिmय भएर बस्नु परेको मन्त्रालयको भनाइ छ ।

राज्यले नीतिगत हस्तक्षेप गर्नुपर्छ : अर्थशास्त्री

त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण आयातमा निर्भर अर्थतन्त्र र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले थप चुनौती थपिएको छ ।

त्यसलाई थप बल मिल्ने गरी बैंकहरुले व्याजदर बढाएका कारण पनि स्थानीय उत्पादन महँगिन थप मद्दत पुगेको उनको बुझाइ छ ।

‘हाम्रो आफ्नै उत्पादन कम हुनु र भएको उत्पादनमा पनि कच्चा पदार्थमा बाह्य मुलुकसँग भरपर्दा महँगीको चपेटामा छौं,’ प्रा.डा. अधिकारी भन्छन्, ‘आयातमा कडाइ गर्न आयातमा नगद मार्जिनको व्यवस्थाले पनि असर गरेको छ ।’

महँगी नियन्त्रण गर्न दीर्घकालीन रुपमा उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउने बाहेक उपाय नभएको उनको भनाइ छ । महँगीको मारमा परेका जनातका लागि विशेष व्यवस्था गरेर नीतिगत हस्तक्षेप गर्नु पर्नेमा उनको जोड छ ।

‘लक्षित समूह पहिचान गरेर बजारमा हस्तक्षेप गर्नुपर्छ, पोलेसी हस्तक्षेप गर्नुपर्छ । त्यो भनेको थोरै आम्दानी भएका नागरिकलाई कर, अनुदान, सहयोग वा छुटका आधारमा सहुलियत घोषणा गरिनु पर्छ’ अर्थशास्त्री अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि
  • २०७८ फाल्गुन ५, बिहीबार १८:१५
  • In "देश"
  • तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक
  • २०७८ फाल्गुन ५, बिहीबार १८:१५
  • In "थप"
  • महिनैपिच्छे बढ्छ पेट्रोलियम पदार्थको भाउः १० महिनामा १५ प्रतिशतले वृद्धि
  • २०७८ फाल्गुन ५, बिहीबार १८:१५
  • In "आर्थिक"

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

माइतीघरदेखि बानेश्वर चोकसम्म पुलिसै पुलिस

साउदीका सेना प्रमुखले भारतको भ्रमण गर्दा पाकिस्तानलाई तनाब !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version