काठमाण्डौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो ८४० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक रहेका छन् ।
दुबईबाट हिमालय एयरलाइन्समार्फत् काठमाडौं आएका चिनियाँ नागरिक ३६ वर्षीय झाङ लीबाट करिब पाँच किलो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
विशेष सूचनाको आधारमा अध्यागमन कक्षबाट बाहिरिने क्रममा आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको र नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
जाँचका क्रममा चिनियाँ नागरिकले पाइन्टको कम्मरको भागमा फल्स बटम बनाई मेटल डिटेक्टरले डिटेक्ट गर्न नसक्ने बनाएको पेटी आकारको अर्धठोस सुनको पोका एक थान र तीनवटा भित्री वस्त्रमा फल्स बटम बनाई प्रत्येक भित्री वस्त्रमा १/१ पोका अर्धठोस सुनको पोका तीन थान फेला परेको थियो ।
तीन करोड ९० लाख ५ हजार ५६० रुपैयाँ बराबरको सुन अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवं कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।