काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउँदै यसलाई रोक्न पूर्व चेतावनी दिएका छन् ।
नेपालले अघिल्लो वर्ष पुस ५ गते प्रतिनिधि सभा विघटन भएको स्मरण गर्दै नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
एमसीसीको विषयलाई लिएर देशी, विदेशी शक्तिले गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने टिप्पणी उनले गरेका हुन् ।
‘हामीले ध्यान पुर्याउन सकेनौँ भने, यो वा ऊ बाहानामा हामीले तन्काउन थाल्यौँ भने सानो सानो एउटा समस्याले पनि एउटा ठुलो विस्फोटक रुप लिएर यो हाम्रो गठबन्धनलाई जसरी भत्काउने प्रयत्न भित्र बाहिरबाट भइरहेको छु, उनले भने, ‘त्यो भत्कने र फेरि नयाँ ढंगले प्रतिगमन अगाडि आउने खतरा छ। एमसीसीको मुद्दामा हामीले राष्ट्रिय सहमति, जुटाएर अगाडि बढ्न सकेनौँ भने यही बाहानामा भित्री र बाहिरी शक्तिले गठबन्धन तोडिदिनेछन्। त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ।’
अध्यक्ष डा भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्न आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताए। प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उनको तर्क छ। गठबन्धनका दलहरुबीच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनविरुद्ध एकढिक्का हुनुपर्नेमा उनको जोड थियो।