सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा गएराति डाका समूहको प्रतिकार गर्ने क्रममा एकै घरका बाबुछोरा गोली लागेर गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाकाका अनुसार डकैती गर्न आएका समूहको अन्धाधुन्ध गोली प्रहारबाट स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिल सिंह महतो घाइते भएका हुन् ।
डीएसपी रमेश बहादुर पालका अनुसार राति करिब ८–१० जनाको समूहमा नकाबपोश हतियारधारी डकैतहरू गाउँमा पसेका थिए ।
उनीहरू स्थानीय भोला महतोको घरमा डकैती गर्दै गर्दा भोलाले छिमेकीलाई गुहार मागे । गुहारपछि वीरेन्द्र, अनिलसहित अन्य छिमेकीहरू प्रतिकारका लागि पुग्दा डाका समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली लागेर बाबुछोरा ढलेपछि प्रतिकारमा उत्रिएका गाउँलेहरू पछि हट्न बाध्य भएका थिए, जसपछि डाका समूह डकैती पूरा गरी फरार हुन सफल भयो।
घाइते वीरेन्द्र र अनिलको छातीको दायाँ–बायाँ भागमा गोली लागेको छ। दुवैको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
डकैतीमा संलग्न समूहको पहिचान हुन बाँकी रहेको र खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डिएसपी पालले बताए।














