महेश सिंह सिरहा – लहानमा Gen-Z आन्दोलनका क्रममा सार्वजनिक स्थलहरूमा आगलागी हुँदा वरिपरिको वातावरण अस्तव्यस्त बनेको थियो। आन्दोलनपछिको उक्त अव्यवस्थित परिस्थितिलाई व्यवस्थित बनाउन एन.सि.सि अल्मुनाई एशोसिएशन सिरहा का जिल्ला निर्देशक लक्ष्मण शर्माको नेतृत्वमा २० जना NCC क्याडेटहरू खटिएका छन्।
सडकमा जमिनमा छरिएका फोहर, जलेका टायर तथा धुवाँको अवशेष हटाउँदै सरसफाइमा जुटेका क्याडेटहरूले शहरलाई पुनः सफा र व्यवस्थित बनाउन ठूलो योगदान गरेका छन्। स्थानीय नागरिकहरूले युवाहरूको यो सकारात्मक भूमिकाको प्रशंसा गर्दै यसलाई “संकटपछि समाजप्रतिको जिम्मेवारीबोध” का रूपमा व्याख्या गरेका छन्।
निर्देशक शर्माले भने, “देशमा जुनसुकै परिस्थितिमा पनि युवाहरूले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्ने क्षमता देखाउनुपर्छ। हाम्रो यो सरसफाइ अभियान त्यसकै उदाहरण हो।”
यो पहलले आन्दोलनपश्चात् बिग्रेको वातावरणलाई सुधार्न मात्र नभई सामाजिक सचेतना र एकताप्रतिको सन्देश पनि दिएको छ।














