बेइजिङ। कोरोनाभाइरस संक्रमणविरुद्ध कडा मापदण्डका बावजुद चीनको सियान सहरमा संक्रमण फैलन थालेको छ । उक्त सहरमा पछिल्लो समय ९८० संक्रमित भेटिएका छन् ।
संक्रमण फैलन थालेपछि सरकारले यस सहरमा लकडाउन लगाएको हो । साथै सबै संक्रमणका केस तीव्र रुपमा फैलने प्रकृतिका भएपछि सरकारले तत्काल लकडाउन लगाएको हो ।
चिनियाँ अधिकारीहरूका अनुसार डिसेम्बर ४ मा पाकिस्तानबाट सियान पुगेको जहाजमा ६ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि सहरमा संक्रमण बढेको बताइएको छ । मंगलबारसम्म चीनमा जम्मा २ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।
सिएनएनका अनुसार सियानमा पहिलो केस ९ डिसेम्बरमा देखिएको थियो । २९ डिसेम्बर दिउँसोसम्म उक्त सहरमा जम्मा ९८० जना संक्रमित देखिएका हुन्। सियान सहरको जनसंख्या एक करोड ३० लाख छ । जवकि संक्रमण फैलन थालेपछि यहाँ पछिल्लो एक सातादेखि लकडाउन घोषणा गरेको छ । गत डिसेम्बर २३ मा सरकारले लकडाउन लगाएको हो।
हाल यस सहरमा सार्वजनिक भेला तथा सभा गर्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक सवारी समेत ठप्प छन् । आपतकालिन सेवा तथा एम्बुलेन्स बाहेक अन्य सवारी बन्द गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यहाँ सियानमा सेना समेत परिचालन गरिएको छ ।
२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक कोरोनाभाइरसका बिरामी देखिन थालेपछि चीनले कडा स्वास्थ्य मापदण्ड लागू गरेको थियो । जसकारण अन्य देशको तुलनामा चीनमा कोरोना संक्रमणको असर कम देखिएको थियो ।