No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश


चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महीनामा नेपालको भन्सार प्रणाली भएर १ लाख २६ हजार ३४० किलो चाँदी आयात भएको देखियो । भन्सारकै विवरण हेर्दा यो अवधिमा ७ हजार २६८.७९ किलो चाँदी विभिन्न प्रकारका भाँडा, सजावटका वस्तु लगायतमा प्रयोग भएर नेपालबाट निर्यात भयो ।

नेपालमा तयारी सुन–चाँदीको गहना बिक्री गर्ने काममा निश्चित व्यवसायीहरू मात्रै संलग्न छन् । उनीहरूका भनाइमा नेपालमा दैनिक औसत २०० किलो मात्रै चाँदीको खपत छ । अझ कोरोना महामारी पछि त्यो मात्रा पनि निकै घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । चालु आवको शुरूआती तीन महीनामा ९० दिन खुलेको सुन–चाँदीको कारोबारमा सोही परिमाणको खपतले झण्डै १८ हजार किलो मात्रै चाँदीको खपत स्वदेशी बजारमा भएको देखिन्छ ।

आर्थिक वर्ष कुल चाँदी आयात (किलोमा) कुल चाँदी खपत (किलोमा) कुल चाँदी निर्यात (किलोमा) हिसाब नदेखिएको कुल चाँदी (किलोमा)
२०७५/७६ २,८८,४५६ ६०,००० ६,३४२ २,२२,११४
२०७६/७७ १,४४,२०४ ६०,००० ३,६६८ ८०,५३६
२०७७/७८ १,०७,२११ ६०,००० ७६१ ४६,५५०
२०७८/७९ १,२६,३४० १८,००० ७,२६८.७९ १,०१,०७१.२१
३ महीना ५,६६,२११ १,९८,००० १८,०४० ४,५०,२७१
स्रोत : भन्सार विभाग र सुन–चाँदी व्यवसायी महासंघ
तीन वर्षमा नेपाल भित्रिएको ४ लाख ५० हजार किलो चाँदी अहिले कहाँ पुग्यो ? ४७ अर्ब रुपैयाँ बराबरको यो सेतो पदार्थमा भएको अपचलन अनुसन्धान गर्न सरकारी निकायले रुचि नदेखाउनु थप शंकाको विषय भएको छ ।

यसमा निर्यात भएको ७ हजार २६८.७९ किलो चाँदीको हिसाब जोड्दा २५ हजार ६६८.७९ किलो चाँदी खपत भएको देखिन्छ । वैधानिक भन्सार प्रक्रियाबाट नेपाल भित्रिएर यहाँ खपत पनि नभएको र यहाँबाट निर्यात पनि नभएको १ लाख १ हजार ७१ किलो २१ ग्राम चाँदी मुलुकको औपचारिक अर्थ प्रणालीमा देखिन्न ।

चालु आवको तीन महीनामा ११ अर्ब ९९ करोड १४ लाख १३ हजार रुपैयाँ बराबरको चाँदी नेपाल भित्रिएको छ । जबकि गत वर्ष यही तीन महीना अवधिमा ४९ करोड ५२ लाख रुपैयाँ बराबरको ४ हजार ६०० किलो मात्रै चाँदी नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा चाँदीको आयातमा २७ गुणाले वृद्धि हुनु, रकममा हिसाब गर्दा झण्डै सवा ११ अर्बले चाँदीको आयात बढेको देखिन्छ । दैनिक औसत १४०० किलो हाराहारीमा नेपाल भित्रिएको चाँदीले नेपालको औपचारिक अर्थतन्त्रमा कहीं कतै आफ्नो उपस्थिति देखाउँदैन ।

****

गएको आर्थिक वर्षमा पनि नेपालमा आयात, खपत र निर्यात हुने चाँदीको हिसाब–किताबमा मेल खाँदैन । आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ८८ करोड २२ लाख रुपैयाँ बराबरको १ लाख ७ हजार २११ किलो चाँदी आयात भएको थियो । तर २२ करोड ५७ लाख ५५ हजार रुपैयाँ बराबरको ७६१ किलो चाँदी मात्रै नेपालबाट निर्यात भएको देखिन्छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, यो वर्ष दैनिक २०० किलोका दरले चाँदीको खपत भयो भन्ने मान्दा पनि वार्षिक रूपमा ४६ हजार ५५० किलो चाँदीको हिसाब भेटिंदैन । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार ‘३०० दिन बजार चलेको अनुमान गरेर दैनिक २०० किलोका दरले चाँदीको बिक्री हुँदा पनि आयातको परिमाण अनुसार झण्डै ४६ हजार किलो चाँदी स्वदेशमा पनि खपत नभएको र विदेश निर्यात पनि नभएको देखिन्छ ।’

****

चाँदीको हिसाब गत वर्ष मात्रै होइन त्योभन्दा अघिल्लो आर्थिक वर्ष पनि गोलमाल पूर्ण नै छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालमा एक लाख ४४ हजार २०४ किलो चाँदी आयात भएको थियो । सो वर्ष जम्मा ३ हजार ६६८ किलो चाँदी मात्रै नेपालबाट निर्यात भएको भन्सारको अभिलेखबाट देखिन्छ ।

यस अवधिमा औसत ३०० दिन दैनिक २०० किलोका दरले नेपालमा चाँदीको कारोबार भएको मान्ने हो भने वार्षिक ८० हजार ५३६ किलो चाँदीको हिसाब मिल्दैन ।

चाँदीको अमिल्दो हिसाब आर्थिक वर्ष २०७५/७६ मा पनि थियो । सो वर्ष नेपालमा २ लाख ८८ हजार ४५६ किलो चाँदी आयात हुँदा ६ हजार ३४२ किलो निर्यात भएको देखिन्छ । नेपालबाट निर्यात भएको ६ हजार ३४२ र नेपालको औसत अधिकतम खपत ६० हजार किलो जोड्दा ६६ हजार ३४२ किलो हाराहारी चाँदी मात्रै नेपालको व्यावसायिक प्रणालीमा देखिन्छ । सो वर्ष २ लाख २२ हजार ११४ किलो चाँदीको हिसाब कुनै स्रोतबाट पनि पाइन्न ।

आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को अन्त्यसम्म तीन वर्ष र २०७८/७९ को तीन महीनामा मात्रै कुल ४ लाख ५० हजार किलो चाँदीको हिसाब देशको वित्तीय प्रणालीबाट गायब छ । जसको आइतबारको नेपालको बजार मूल्य ४८ अर्ब रुपैयाँ बराबर हुन्छ ।

कहाँ गयो सवा पाँच लाख किलो चाँदी ?

नेपालमा आयात भएको चाँदी सजावटका वस्तु तथा गहनाका रूपमा नेपालबाट विदेश निर्यात गर्न पाइन्छ तर ढिक्का काँचो चाँदीमा निर्यात पूर्ण बन्देज रहेको भन्सार विभागले जनाएको छ । आयातको उच्च परिमाण अनुसार निर्यात नहुनु, स्वदेशी बजारमा पनि खपत नहुनु र चाँदी मौज्दात पनि नहुनुले नेपालबाट चाँदी कतै तस्करी भइरहेको छ भन्ने संकेत गर्छ ।

नेपालमा चाँदीको कारोबारमा संलग्न प्रमुख निकायहरू सुन–चाँदी व्यवसायी महासंघ र हस्तकला व्यवसायी महासंघ पनि नेपालमा चाँदीको अपचलन भइरहेको ठान्छन् । चाँदीको अपचलन भइरहेको भनेर आफूहरूले ६ महीना अघि नै राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई जानकारी गराएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

‘कोभिडका कारण सुन–चाँदी र हस्तकलाको व्यापार निमिट्यान्न भएको बेलामा पनि चाँदीको आयात उच्च रहेपछि हिसाब गर्दा वार्षिक ठूलो परिमाणमा चाँदीको हिसाब गायब भएको पाइयो’ एक जना अधिकारीले भने, ‘सरकारी प्रणालीमा उक्त गोलमालपूर्ण हिसाब हरेक दिन देखिन्छ । बैंकबाट एलसी खोलेर चाँदी आयात गर्नेको विवरणमा एकै दिनमा पत्ता लाग्ने कर्तुत अर्थ मन्त्रालय र राष्ट्र बैंकको मिलेमतोमा लुकाइयो ।’

बैंकको एलसी प्रक्रिया अनि अर्थ मन्त्रालय र भन्सारको प्रणालीमा स्पष्ट देखिने चाँदीको गडबडीमा तीन वटै निकायले आँखा चिम्लिएको हस्तकला तथा सुन–चाँदी व्यवसायीहरू बताउँछन् । नेपालमा खपत नभएको र नेपालबाट औपचारिक च्यानलबाट विदेश निर्यात भएको नदेखिएको अनि मुलुकमा ठूलो परिमाणमा चाँदी भित्रिएको पाइएपछि राष्ट्र बैंकलाई सो बारे लिखित जानकारी गराइएको नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

‘हामीले ६ महीना अघि नै चाँदीको उच्च आयातमा शंका लागेर राष्ट्र बैंकलाई लिखित रूपमै जानकारी गराएका थियौं । तर, उहाँहरूले लामो समय हाम्रो कुरा सुन्नुभएन’ नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले अनलाइनखबरसँग भने ‘यसबारे सरकारले छानबिन गर्न ढिलाइ गर्नुहुँदैन ।’

चाँदीको अपचलन भएकै होः अर्थ मन्त्रालय

चाँदीको शंकास्पद अदृश्य कारोबार भइरहेको विषयलाई अर्थ मन्त्रालयले १९ असोज २०७८ मा संशोधन गरेको चाँदीको भन्सार महसुलको निर्णयबाट पनि पुष्टि हुन्छ । उक्त संशोधनपछि भारतमा भन्दा नेपालमा चाँदीको मूल्य महँगो बनाइएको छ । नेपाली बजारमा चाँदीको मूल्य सस्तो हुँदा अवाञ्छित कारोबार बढेको आशंका गरिएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । ‘आवश्यकता भन्दा धेरै आयात देखिएपछि यसमा केही नियन्त्रण गर्नुपर्ने देखियो’, प्रवक्ता शाक्यले भने ।

असोज १९ को निर्णयबाट चाँदीको भन्सार शुल्क प्रति १० ग्राम ८५ रुपैयाँबाट बढाएर १०७ रुपैयाँ पुर्‍याइएको थियो । नयाँ निर्णय अनुसार चाँदीको प्रति १० ग्राम भन्सार शुल्क २२ रुपैयाँले बढेको छ । बढाइएको भन्सार महसुलपछि भारतीय बजारमा भन्दा नेपाल चाँदी महँगो हुने सरकारीहरूको आकलन छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले अर्थ मन्त्रालयलाई दिएको सूचना अनुसार केही वर्षदेखि तराईका जिल्लाहरूमा चाँदीको माग उच्च थियो । भारतमा सुन–चाँदीको भाउ प्रतिशतमा बढ्ने र नेपालमा १० ग्राममा भन्सार महसुलले मूल्य निर्धारण हुने भएकाले भारतमा भन्दा नेपालमा चाँदीको भाउ सस्तो रहेको पाइएको भन्सार विभागको अध्ययनले पुष्टि गरेको छ । सोही आधारमा भन्सार महसुल बढाउन सिफारिश गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

चाँदीको व्यवसायमा ठूलो चलखेल भएको संकेत यो आर्थिक वर्षको पहिलो महीना साउनमा मात्रै पाइएको राष्ट्र बैंकको भनाइ छ । गत वर्षको तुलनामा खपत भन्दा अधिक र अनावश्यक चाँदीको आयात देखिएपछि यसबारे अर्थ मन्त्रालयलाई जानकारी गराइएको राष्ट्र बैंक स्रोतले बतायो । ‘विदेशी मुद्राको सञ्चिति कमजोर रहेको बेला बढेको चाँदी आयातबारे पुनर्विचार गर्न अर्थलाई सुझाव दिइएको र भन्सार महसुलले समस्या समाधान नभए कोटा तोक्नेसम्मको गृहकार्य भएको छ’, राष्ट्र बैंक स्रोतले अनलाइनखबरसँग भन्यो ।

आयात, स्वदेशी बजारको खपत र निर्यातको अवस्था हेर्दा समस्या देखिएपछि महसुल वृद्धि सिफारिश गरिएको भन्सार विभागका एक अधिकारीले बताए । ‘चाँदीको आयात अस्वाभाविक देखिएकै छ, यो कहिलेदेखि थियो भन्ने अझै यकिन भएको छैन’, ती अधिकारीले भने । कोटा नतोकिएको र जुनसुकै व्यवसायीले स्वतस्फूर्त आयात गर्न सक्ने भएका कारण मूल्यान्तरको फाइदा उठाउन गिरोह लागेको हुनसक्ने भन्सार सम्बद्ध अधिकारीहरूको आकलन छ ।

नेपालमा दुई वटा महासंघमा आबद्ध व्यवसायी बाहेकले ठूलो परिमाणमा सुन–चाँदीको कारोबार नगर्ने व्यवसायीहरू बताउँछन् । तर, चाँदीको आयात भने जो कुनै पनि व्यवसायीले गर्न पाउने प्रावधान रहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

‘व्यवसायीले गहनाको रूपमा विदेश बिक्री नगरेको र देशको प्रणालीमा पनि नदेखिएको चाँदीकोे हिसाब राज्यले खोज्नुपर्छ’ महासचिव बज्राचार्यले भने, ‘विदेशी मुलुकका लागि स्वदेशी डलर खर्च गरेर वस्तु आयात गर्ने कार्य निन्दनीय हो, सरकारले चाँदीको कारोबार पारदर्शी बनाउनुपर्छ ।’

भारतीय सीमा वारि–पारि समातिन्छ चाँदी

१० कात्तिक २०७८ : मोरङ रतुवामाई नगरपालिका–३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित स्थानीय ३० वर्षीय धर्मेन्द्र शर्मालाई पक्राउ गर्‍यो। बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले तार बनाएर ल्याएको बिल नभएको चाँदी बरामद गरेको थियो ।

५ असोज २०७८ : रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले सर्लाही मलंगवा–२ बस्ने विद्यानन्द साह सोनारलाई पक्राउ गर्‍यो । दुवै हातमा कालो रंगको झोला बोकी हिंडिरहेको अवस्थामा पक्राउ परेका उनको साथबाट ४० किलो चाँदी बरामद भएको थियो । असोज ५ गतेको बजार मूल्य अनुसार सोनारको साथबाट बरामद भएको चाँदीको मूल्य ३९ लाख ४४ हजार रुपैयाँ बराबरको थियो ।

२४ साउन २०७८ : पर्साबाट प्रहरीले १ लाख ७९ हजार ९०५ रुपैयाँको सुन–चाँदी मिश्रित गरगहना बरामद गरेको थियो । जगरनाथपुर गाउँपालिका–२ जानकीटोल बस्ने १९ वर्षीय सोनुकुमार सोनारको साथबाट चाँदीको पायल, विछिया लगायत २६३ पिस र सुनका ३४ पिस गरगहना फेला परेका थिए ।

३० मंसीर २०७७ : प्रहरीले वीरगञ्जबाट ६५ किलो चाँदीका गरगहना बरामद गर्‍यो । आवश्यक कागजपत्र देखाउन नसकेपछि वीरगञ्ज–६ स्थित सुनिताकुमारी सर्राफको माँ जय नरसिंह ज्वेलर्सबाट चाँदी बरामद गरिएको थियो । सुनिताका श्रीमान् भारतीय नागरिक दीपक सर्राफलाई प्रहरीले पक्राउ गरेर कानूनी कारबाही प्रक्रिया अघि बढाएको थियो ।

नेपाल प्रहरीले मात्रै नभएर भारतका विभिन्न सुरक्षा बल र राजश्व छली विरुद्ध काम गर्ने निकायले नेपालबाट भारततर्फ लगेको चाँदी बरामद गर्ने गरेका छन् ।

१६ अक्टोबार २०२१ अर्थात् ३० असोज २०७८ मा भारतीय सीमा सुरक्षा बल एसएसबीले पाँच किलो भन्दा बढी चाँदीका भाडाकुँडा सहित बझाङका एक युवकलाई पक्राउ गरेको थियो । उनी नेपाल–भारत सीमाको पिलर नं ८०२/११ नजिकै जंगलको बाटो भारत पस्न लागेका थिए । उनीसँग चाँदीको चम्चा, गिलास लगायत सामानको मूल्य चार लाख रुपैयाँ अनुमान गरिएको थियो ।

स–सानो परिमाणमा मात्रै नभएर संगठित रूपमा पनि तस्करी हुने गरेको भेटिएको छ । ६ अक्टोबरमा भारतको ‘डिरेक्टोरेट अफ रेभिन्यु इन्टेलिजेन्स’ (डीआरआई) ले मुजफ्फरपुर मनियारी थानाको काजी इंडा टोल प्लाजा नजिकै २६० किलो चाँदी बरामद गर्‍यो । १ करोड ७० लाख मूल्य बराबरको सो चाँदी नेपालबाट लगिएको उनीहरूको आशंका छ । कारको डिक्की भित्र फल्स बटम बनाएर चाँदीको चामल जस्तो दाना राखिएको प्याकेट लुकाएर लगिएको थियो ।

आयात प्रक्रियामा सामेलमाथि अनुसन्धान गर्नुपर्छ

वीरगञ्जमा तयारी चाँदीका भाँडावर्तन र गरगहना मात्रै बिक्री हुन्छ । यहाँका सुनचाँदी व्यवसायीले चाँदीको सामान बनाउँदैनन् । भाँडाकुँडा करुवा, टिकदानी काठमाडौंबाट र पाउजु जनकपुरबाट ल्याउने गरिएको व्यवसायीहरूको भनाइ छ । चाँदीको वैध कारोबार गर्नेलाई कुनै समस्या नरहेको उनीहरूले बताए ।

सजावटका वस्तुमा राखेकोले नेपालमा चाँदीको आयात गर्न निजी क्षेत्रले पनि पाउने व्यवस्था छ । आयातकर्ताले बैंक ग्यारेन्टी राखेर आवश्यक प्रक्रिया पूरा गरी चाँदी आयात गर्न सक्छन् । त्यसरी ल्याइएको चाँदी फर्महरूलाई वितरण गरिन्छ ।

सुनचाँदी व्यवसायी संघ पर्साका पूर्व अध्यक्ष निरज सर्राफ कसले कति चाँदी आयात गर्‍यो र क–कसलाई दियो भनेर खोजिनुपर्ने बताउँछन् । ‘बैंक ग्यारेन्टी नबसी चाँदी आउँदैन, कसैले १०० किलो चाँदी आयात गरेको छ भने कहाँ–कहाँ दियो ? फर्मलाई दियो कि व्यक्तिलाई ? खोजिनुपर्छ’ उनले भने, ‘वीरगञ्जमा ४०० सुनचाँदी व्यवसायी छन्, सबै राम्रा छन् भनेर म भन्दिनँ । वर्षमा १० लाखको कारोबार गर्न नसक्ने पसलेले २० लाखको चाँदी किन्छ भने किन किन्यो अनुसन्धान हुनुपर्छ ।’

व्यवसायीका अनुसार, वीरगञ्जका वाणिज्य बैंकहरूले चाँदी आयात गर्न ग्यारेन्टी सुविधा दिने गरेका छन् । आयातकर्ता, डिष्टिव्युटर्स, बैंक र फर्महरू मिलेर चाँदीमा चलखेल गर्ने गरेको सुनचाँदी व्यवसायीको आरोप छ । ती व्यापारीका अनुसार, ‘आयातकर्ता, डिष्टिव्युटर्सहरूले नै आफन्तको नाममा फर्म दर्ता गर्ने, चाँदी लिने र मनपरी ढंगले बेच्ने गरेका छन् । उनीहरूको सुन–चाँदी पसल पनि हुँदैन । आवश्यकता भन्दा बढी परिमाणमा मगाउँछन् र भारततिर तस्करी गराउँछन् ।’

नेपाल सुन–चाँदी व्यवसायी संघका उपाध्यक्ष शिव सर्राफ देशमा आवश्यकता भन्दा धेरै नै बढी चाँदी भित्रिरहेकोले आयातकर्तालाई कोटा तोक्नुपर्ने बताउँछन् । उनले भने ‘सुन–चाँदी व्यवसायी संघ मार्फत जिल्लाको खपत अनुमान गर्न सकिन्छ ।’

नेपालले आर्जन गरेको वैदेशिक मुद्रा अर्थतन्त्रको च्यानलमा नआई बाहिर बाहिरबाटै पलायन हुनुले नेपालको अर्थतन्त्रमा ठूलो असर पार्ने अर्थशास्त्री डा.अच्युत वाग्ले बताउँछन् । वाग्लेका विचारमा, यस्ता वस्तुको पलायनले विदेशी मुद्रा सञ्चयमा ठूलो असर पर्छ भने अर्कोतर्फ अपराध उन्मुख अनौपचारिक अर्थतन्त्र फस्टाउँदै जान्छ ।

‘बहुमूल्य धातु पैसा बराबर नै हो । यस्तो कार्यले अनौपचारिक अर्थतन्त्र मौलाउन, करको दायरामा नभएका मान्छेको संख्या बढ्न र अपराध उन्मुख अर्थतन्त्र मौलाउँछ’ डा. वाग्ले भन्छन् । सुनको तुलनामा चाँदीको तस्करीबाट उल्लेख्य नाफा नहुने भए पनि यसमा ठूला भन्दा पनि साना तस्कर सहभागी भएको हुनसक्ने उनको आकलन छ । वाग्ले भन्छन्, ‘यसले तस्करी भयो भन्ने मात्रैमा होइन, नेपालमै अवैध सम्पत्ति लुकाउन पनि चाँदीमा लगानी भएको हुनसक्छ । त्यसैले यसमा अनुसन्धान हुनुपर्छ ।’

(प्रदेश–२ बाट सुरेश बिडारीको सहयोगमा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post
चिनको राजधानी बेईजिङमा आयो ठुलो संकट ब्यापार ब्यवसायमा ठुलो धक्का

चिनको राजधानी बेईजिङमा आयो ठुलो संकट ब्यापार ब्यवसायमा ठुलो धक्का

जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ

जि २० सम्मेलनमा भारतको भुमिका स्पष्ट , कोरोना संक्रमण उत्पति बारे अनुसन्धान हुनु पर्ने माङ

प्रचण्ड काँग्रेसको पुच्छर बनेर  जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

प्रचण्ड काँग्रेसको पुच्छर बनेर जनयुद्ध र शहीद समेतको अपमान गरे – शाह

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...